site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
बा

मेघेन्द्र प्रकाश गिरी 


मलाई माया गर्ने पूजनीय मेरा बा
हात समाएर मेरो उज्यालो भविष्य कोर्ने मेरा बा
बचपनदेखि जीवनभरको यात्रामा थाक्न नजान्ने
भित्र पीडा भए पनि मेरा सामु
मन्द मुस्कान छर्ने मेरा बा
कति दिन कति रात भोकै सुते होलान् मेरा बा
छोराको चाहना पूरा गर्न कति झुके होलान्
र कति बाचा दिए होलान्
मेरा लुगाफाटा, स्कुल फी, कापीकलमको जोहो गर्न
कति पसिना बगाए होलान्
म सम्झन्छु आज त्यो मोह कति हृदयस्पर्शी थियो
मेरो एउटा हाँसोका निम्ति
कति माइल हिँडे होलान् मेरा बा
बिनाशब्द, बिनागुनासो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

देश सेवा निःस्वार्थ भावले गर्न सदैव अग्रसर हुने
मेरा बालाई म राम्रै चिन्छु
नेपाल आमालाई आफ्नै ममतामयी आमासरि
माया गर्ने मेरा प्यारा बा
राष्ट्रसेवामा समर्पित भएका
रत्तिभर लालचा नबोकेका मेरा बा ।

सालमा एक सरो लुगा र सादा जीवनमै
जिउन जानेका मेरा बा
भ्रष्टाचारी र राष्ट्रघातीलाई घृणा गर्ने मेरा बा
सदैव नेपाल आमा हाँसेको, सिँगारिएको,
खुसी भएको देख्न चाहने मेरा बा 
प्यारा, साधारण, मायालु र कोमल हृदयका
कसैलाई रत्तिभर बचन फर्काउन नजान्ने मेरा बा ।

मेरा बा, 
बा !
मेरा प्यारा बा !
 

प्रकाशित मिति: शनिबार, असार १४, २०८२  ०६:५२
प्रतिक्रिया दिनुहोस्