
काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले बर्सेनि आयोजना गर्दै आएको राष्ट्रिय कविता महोत्सवको अर्को शृंखला सम्पन्न गरेको छ । सोमबार प्रतिष्ठानको ६८औँ वार्षिकोत्सवको अवसर पारेर प्रतिष्ठानकै सभा कक्षमा आयोजित कार्यक्रममा २५ जना प्रतियोगी कविले आआफ्ना कविता वाचन गरे ।
कार्यक्रम उप्रान्त प्रतिष्ठानका सदस्य–सचिव डा. धनप्रसाद सुवेदीले जारी गरेको सूचनाअनुसार सर्वोत्कृष्ट १० कविताहरूको नाम पुरस्कारका लागि छनोट गरिएको छ । सूचनाअनुसार कविहरू अविनाश भट्टराई, कर्ण संजय, किशन पौडेल, गोमा श्रेष्ठ, चन्द्रमणि चापागाईं, तुलसी केसी, मिरमा (रमा सुवेदी), शमूएल कोइराला विश्वकर्मा, सन्ध्या महर्जन र सिर्जन अविरलका कविता पुरस्कृत भएका छन् ।
कार्यक्रमको पहिलो चरणमा कार्यक्रमको उद्घाटन गर्दै प्रतिष्ठानका कर्मचारीहरूलाई पुरस्कृत गरियो ।
दोस्रो चरणमा छानिएका २५ कविहरू अविनाश भट्टराई, ऋतेश गुरुङ, एड्सन चाम्लिङ, करुणा नेपाल, कर्ण संजय, किशन पौडेल, खेमराज सुवेदी, गुञ्जन राई, गोमा श्रेष्ठ, चन्द्रमणि चापागाईं, टहल दाहाल ‘नवकिरण’, तुलसी केसी, दयाराम दुवाडी आत्रेय, नरोत्तम श्रेष्ठ, निहाङ किराती, भेषराज सापकोटा, भोगेन्द्र लिङ्देन, मदन माबो, मधुर भट्टराई, मिरमा (रमा सुवेदी), रवीन रेग्मी, राजेन्द्रप्रसाद भट्ट, शमूएल कोइराला विश्वकर्मा, सन्ध्या महर्जन र सिर्जन अविरलले आफ्ना कविता वाचन गरे ।
उक्तअवसरमा अतिथि कविहरू जनक रसिक, अभय श्रेष्ठ, दुर्गा किरण तिवारी, दीपक सापकोटा, बाबु त्रिपाठी, सुमित्रा चेली, ऋतेश त्रिपाठी, मुनाराज सेर्मालगायतले कविता वाचन गरे ।
कार्यक्रममा प्रतिष्ठानका कुलपति भूपाल राईले कविताको चर्चा गर्दै विचार सम्प्रेषण गर्ने शक्तिशाली माध्यम कविता भएको बताए ।
भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुरले कविताको शक्तिबारे बोल्दै नेपाली कवितालाई अनुुवादको माध्यमबाट विश्व सामु पुर्याउनुपर्ने बताए । उक्त अवसरमा नेपाल ललितकला प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले पनि बोले ।