site stats
बाह्रखरी :: Baahrakhari
देश
करेन्ट लागेर मुगुमा १० खच्चर मरे, विद्युत् प्राधिकरणमाथि आरोप
मुगु सदरमुकाम गमगढीको दृश्य । फाइल तस्बिर ।

मुगु । विद्युत् सेवा चुहावट हुँदा मुगुको छायानाथ रारा नगरपालिका–११, कुसाटाउमा १० खच्चर मरेका छन् ।

ती खच्चर जिल्ला सदरमुकाम गमगढीबाट सामान लिएर मुगुम कार्मारोङ गाउँपालिका जाँदै थिए । त्यही बेला नेपाल विद्युत् प्राधिकरण गमगाढ वितरण केन्द्रको ट्रान्समिटरबाट विद्युत् चुहावट हुँदा करेन्ट लागेको थियो । 

प्राधिकरणले कम क्षमताको ट्रान्समिटर राख्दा र विद्युत्को अर्थिङ सुरक्षित नबनाउँदा आइतबार (असार ८) दिउँसो ती खच्चरलाई करेन्ट लागेको खच्चरधनी छायानाथ रारा–१ का कन्नबहादुर मल्लले गुनासो गरे ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले भने, “पानी परिरहेका बेला सडकछेउमा रहेको ट्रान्समिटरबाट विद्युत् जमिनमा बगेको रहेछ, हामीलाई थाहै भएन । एक्कासि १० खच्चर करेन्ट लागेर मरे । मलाई पनि करेन्ट लागेको थियो, चप्पल लगाएको हुनाले सामान्य झड्का मात्र लाग्यो, म बचेँ ।”

उनका अनुसार, एउटा खच्चरको मूल्य एक लाख ५० हजार रुपैयाँभन्दा बढी पर्छ । उनले खच्चरको क्षतिपूर्ति दिन प्राधिकरणसँग माग गरे ।

मल्लका चार, छायानाथ रारा–१० का जग्गी बढुवाल र पृथ्वीबहादुर ऐडीका तीन/तीन खच्चर मरेका हुन् ।

गएको शुक्रबार (असार ६) पनि छायानाथ रारा–१२, कम्फागाउँ निवासी खड्कबहादुर बुढाको भैँसी करेन्ट लागेर मरेको थियो । 

विद्युत् सेवा व्यवस्थित र सुरक्षित नबनाउँदा यहाँ दिनहुँ स्थानीयले सास्ती भोग्नुपरेको बढुवालले बताए ।

केन्द्रका प्रमुख साजन ऐडीले वर्षा र हुरीबतासका कारण विद्युत् सेवा प्रभावित हुँदा समस्या भएको भन्दै नियमानुसार पाउने क्षतिपूर्तिका निम्ति आफूले प्रादेशिक र केन्द्रीय कार्यालयमा सिफारिस गर्ने बताए । रासस
 

प्रकाशित मिति: सोमबार, असार ९, २०८२  ०९:५८
प्रतिक्रिया दिनुहोस्