
काठमाडौं । नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझाले सम्पत्ति शुद्धीकरणविरूद्ध नीति, रणनीति, प्रणाली र मापदण्ड तयार गरी कार्यान्वयन गर्न बिमा कम्पनीहरूलाई निर्देशन दिएका छन् । नेपाल बिमा प्राधिकरणद्वारा बिमकका एएमएल/सीएफटी कार्यान्वयन अधिकारीहरूसँग आइतबार काठमाडौंमा आयोजित दक्षता अभिवृद्धि कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओझाले सम्पत्ति शुद्धीकरणविरूद्ध प्राधिकरणले जारी गरेका निर्देशिका र निर्देशनबमोजिम आन्तरिक नीति तथा रणनीति तयार एवम् परिमार्जन गरी कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।
“बिमा क्षेत्रमा सम्पत्ति शुद्धीकरण हुन नदिन रोकथामका उपायहरूलाई बलियो बनाउनुपर्छ, प्रतिबद्ध भएर लाग्नुपर्छ, बिमा, लघुबिमा र पुनर्बिमाका जोखिम फरक फरक हुनसक्छन्, जोखिमको सही मूल्यांकन गर्नुपर्छ, ठीक हो होइन निक्र्यौल गर्नुपर्छ, त्रुटि पत्ता लगाएर रोक्नुपर्छ, जोखिम विश्लेषणको दक्षता अभिवृद्धि गर्नुपर्छ,” ओझाले भने ।
बिमा गर्ने व्यक्तिको आम्दानीको स्रोत ठीक हो होइन, बिमा गर्न वित्तीय क्षमता राख्छ राख्दैन भन्ने कुरा बिमा कम्पनीले पहिले नै निक्र्यौल गर्नुपर्ने उल्लेख गरे । अध्यक्ष ओझाले भने, “बिमा कम्पनीहरूको वित्तीय जोखिमांकनमा समस्या छ, वित्तीय जोखिमांकनलाई बलियो बनाउनुपर्छ, बिमा गर्ने व्यक्तिको आर्थिक स्रोत ठीक हो होइन, वित्तीय क्षमता राख्छ राख्दैन, बिमा गरेको सम्पत्ति वैध हो होइनलगायत सबै विषयमा जोखिमांकनै क्रममा हेर्नुपर्छ, अवैध रकम आउने बाटो बन्द गर्नुपर्छ, यसो गर्न सकेमा हामी सुरक्षित हुन्छौँ ।”
सम्पत्ति शुद्धीकरणविरूद्धको कार्य राज्यको प्राथमिकता भएको र राज्यको प्राथमिकता प्राधिकरणको पनि प्राथमिकता भएकाले सोही अनुरूप बिमा क्षेत्रमा पनि सम्पत्ति शुद्धीकरणविरूद्ध एकजुट भएर काम गर्नुपर्छ भन्दै ओझाले यो विषयलाई लिएर कारबाहीको अवस्था आउन नदिने गरी कानुनबमोजिम संरचनामा सुधार गरी रोकथामका उपायहरू अवलम्बन गर्न बिमा कम्पनीहरूलाई निर्देशन दिए ।
नेपाल बिमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले बिमा क्षेत्रमा सम्पत्ति शुद्धीकरणविरूद्ध बिमकहरूलाई सबल बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए ।