
काठमाडौं । नेकपा (एमाले)का सचिव एवं सांसद योगेश भट्टराईले संसद्प्रति मन्त्रीहरू जिम्मेवार नभएको भन्दै आपत्ति जनाएका छन् । शनिबार (असार ७) प्रतिनिधिसभा बैठकमा उनले आपत्ति जनाएका हुन् ।
एकैपटक १० मन्त्रालयमाथिको छलफल गर्नुपर्ने स्थिति आउनु संसद्प्रति मन्त्रीको गैरजिम्मवारी भएको उनले टिप्पणी गरे । “...१० वटा किन पुग्यो भने हिजो केही मन्त्रीजीहरू आउनु भएन । अस्ति केही मन्त्रीजीहरू आउनु भएन,” उनले भने, “अनि, थपिँदै थपिँदै जाँदा १० वटा पुग्यो ।”
उनले संसद्मा विनियोजन शीर्षकमाथिको छलफल भइरहेका बेला योभन्दा महत्त्वपूर्ण अर्को काम के होला ? भन्दै प्रश्न गरे । उनले भने, “म माननीय मन्त्रीज्यूहरूलाई भन्न चाहन्छु– संसद् चलिरहेको बेलामा, विनियोजन शीर्षकमाथिको छलफल भइरहेको बेलामा त्योभन्दा महत्त्वपूर्ण अर्को काम के होला यहाँ ? जसले गर्दा यहाँ नआएर अन्तै जानुपर्ने के पर्यो होला ?
सचिव भट्टराईले विधेयकमा गम्भीरताका साथ भाग लिन मन्त्रीहरूलाई सुझाव दिए । न्युज एजेन्सी नेपाल