site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
महतले सुनाए पूर्वमन्त्री आफैँले ठेक्का पारेको पाँच अर्बको बेथिति कहानी

काठमाडौं । पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले बजेट कसरी दुरुपयोग गरिन्छ भनेर सुनाएका छन् । आइतबार (असार १) प्रतिनिधिसभा बैठकमा उनले बजेटका बेथिति बताएका हुन् ।

उनले आफू अर्थमन्त्री हुँदा ‘नयाँ’ जिल्लामा चार/पाँच प्रशासनिक भवन बनाउन रकम माग गरिएको सुनाए । त्यसका निम्ति आफूले ५० करोड रुपैयाँसम्म ठेक्का लगाउन भनेको जानकारी गराए । तर, ती भवन बनाउन गत आर्थिक वर्ष ०८१/८२ मा अर्को अर्थमन्त्रीले पाँच अर्ब रुपैयाँ विनियोजन गरेको उनले बताए ।

“म अहिले जिल्लाको नाम त भन्दिनँ, मैले ५० करोड भएजति पनि पुग्छ भनेर ठेक्कामा लाउन भनेँ । सम्बन्धित मन्त्रालयले जानीजानी ठेक्कामा लगाएन । किन नलगाएको रहेनछ भने मोडेलको नाममा उहाँहरू ठूलो योजना कार्यान्वयन गर्न लाग्नुभएको रहेछ,” उनले भने ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनका अनुसार, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को तत्कालीन सरकारका समयमा त्यसका निम्ति पाँच अर्ब रुपैयाँ माग गरिएको थियो । त्यो बेला प्रस्ताव लैजाने सहरी विकासमन्त्रीले नै चालु आर्थिक वर्षमा उक्त भवन निर्माणको ठेक्का पाएको महतले बताए ।

“त्यस बेला जो सहरी विकासमन्त्री हुनुहुन्थ्यो, उहाँले प्रस्ताव गर्नुभयो, अर्थ मन्त्रालयले त्यसलाई ओके गर्‍यो । एउटा सदरमुकामको चार/पाँचवटा कार्यालय बनाउन पाँच अर्ब रुपैयाँ विनियोजन भयो,” महतले भने ।

यस्तो हुनुको मुख्य कारण ठूला ठेकेदारले मात्र प्रतिस्पर्धा गर्न पाउने र आफैँले हत्याउने प्रपञ्चको योजना रहेको उनको भनाइ छ । “त्यो ठेक्का अहिले कसले पायो भने जो हिजो मन्त्री हुनुहुन्थ्यो, उहाँले नै पाउनुभएको अवस्था रहेछ,” उनले भने, “यो हो हाम्रो बजेट दुरुपयोग । हामी साढे चार अर्ब रुपैयाँ नौवटा ५०/५० करोडको सडकमा लगाउन सक्थ्यौँ ।”

बनाउनैपर्ने सडकमा लगानी गर्न सकेको भए त्यसले अर्थतन्त्रमा सकारात्मक परिणाम ल्याउने सम्भावना रहेको उनले बताए । बजेट दुरुपयोगप्रति सांसद, मन्त्री र सरकार नै गम्भीर हुनुपर्नेमा उनले जोड दिए ।

“माननीयज्यूहरू, मन्त्रीज्यूहरू र सरकार गम्भीर नहुने हो भने आउने दिन हामी जतिसुकै राम्रो गर्छाैं भने पनि राम्रो हुनेवाला छैन । हामीले ठोस रूपमा जति गर्छाैं गरेर देखाउँछौँ,” उनले भने ।

परिणाम नआउने योजनामा खर्च गर्दै गदैनौँ भन्नुपर्ने उनले बताए । त्यो किसिमको सोचे नराखेसम्म आर्थिक वृद्धि र रोजगारी सिर्जनाका विषय कथाजस्तै हुने उनले टिप्पणी गरे ।

प्रकाशित मिति: आइतबार, असार १, २०८२  १७:५३
प्रतिक्रिया दिनुहोस्