
काठमाडौं । अमेरिका र चीनले विश्वका दुई ठूला अर्थतन्त्रहरूबीचको व्यापार तनाव कम गर्न एउटा रूपरेखा (फ्रेमवर्क)मा सैद्धान्तिक सहमति जनाएका छन् ।
चिनियाँ राज्य–संचालित प्रसारक सीजीटिएनका अनुसार चिनियाँ व्यापार वार्ताकार ली चेन्गगाङले बुधबार लन्डनमा दुई दिने वार्तापछि अमेरिका र चीनले व्यापार फ्रेमवर्कमा सहमति जनाएको सीएनएनले बताएको छ ।
चिनियाँ व्यापार वार्ताकार ली चेन्गगाङलेले भने, “जुन ५ मा दुई राष्ट्रप्रमुखहरूबीच टेलिफोन वार्ता र गत महिना जेनेवा वार्तामा भएको सहमतिलाई कार्यान्वयन गर्ने ढाँचामा दुवैपक्षले सिद्धान्ततः सहमति जनाएका छन् ।”
अमेरिकी वाणिज्यमन्त्री हावार्ड लुटनिकले उक्त सम्झौताले दुर्लभ खनिज पदार्थ र चुम्बकहरूमा चीनले लगाएको प्रतिबन्ध समाधान हुने अपेक्षा गरिएको बताएको बीबीसीले जनाएको छ ।
सामाचारका अनुसार दुवै पक्षले अहिले यो योजना आ–आफ्ना राष्ट्रपतिहरू डोनाल्ड ट्रम्प र सी चिनफिङ समक्ष स्वीकृतिका लागि पेस गर्ने बताएका छन् ।
लन्डनमा बेइजिङ र वाशिङ्टनका शीर्ष अधिकारीहरूबीच दुई दिनसम्म चलेको वार्तापछि यो घोषणा गरिएको हो । आधुनिक प्रविधिका लागि अत्यन्तै महत्वपूर्ण मानिने दुर्लभ खनिज पदार्थहरूको चिनियाँ निर्यात वार्ताको मुख्य एजेन्डामध्ये एक थियो ।
गत महिनामात्र वाशिङ्टन र बेइजिङले व्यापार करहरूमा अस्थायी युद्धविरामको सहमति जनाएका थिए । तर, त्यसयता दुवै देशले एकअर्कालाई सम्झौता उल्लंघन गरेको आरोप लगाएका छन् ।
चीनले दुर्लभ खनिज पदार्थ र चुम्बकको निर्यातमा ढिलाइ गरेको अमेरिकाले आरोप लगाउँदै आएको छ । यसले स्मार्टफोनदेखि विद्युतीय सवारीसाधनसम्म उत्पादन गर्न महत्वपूर्ण भूमिका खेल्छ ।
त्यस्तै, वाशिङ्टनले चीनलाई एआई सम्बन्धी प्रविधि र अर्धचालक (सेमिकन्डक्टर)जस्ता अमेरिकी वस्तुहरूको पहुँचमा प्रतिबन्ध लगाएको छ । बीबीसी