site stats
बाह्रखरी :: Baahrakhari
विदेश
सहायता सामग्री बोकेर गाजा जाँदै गरेकाहरूलाई इजरायलले फिर्ता पठाउने

काठमाडौं । इजरायलको विदेश मन्त्रालयले मंगलबार मानवीय सहायता सामग्री बोकेर गाजा जाँदै गरेको फ्रिडम फ्लोटिला कोएलिसन (एफएफसी)का कार्यकर्तालाई आफ्ना देश फर्काउने घोषणा गरेको छ ।

फ्रिडम फ्लोटिला कोएलिसन (एफएफसी)एक नागरिक अभियान हो जसमा विश्वभरका व्यक्तिहरू र संस्थाहरू समावेश छन् । यो समूहले गाजामा इजरायलले लगाएको नाकाबन्दी हटाउन सामूहिक रूपमा काम गरिरहेको छ ।

Argakhachi Cement Island Ad

उक्त अभियानमा स्विडेनकी जलवायु परिवर्तनसम्बन्धी पैरवीकर्ता ग्रेटा थुनवर्गसहित १२ जना रहेका छन् । उनीहरूलाई आफ्नो देश फिर्ता पठाउनेबारेको जानकारी इजरायली विदेश मन्त्रालयले आफ्नो एक्स एकाउन्टमा पोस्ट गरेर गरेको बीबीसीले जनाएको छ ।

मन्त्रालयले यात्रीहरूलाई उनीहरूको देश फर्काउन तेल अभिवको विमानस्थल ल्याइएको बताएको छ । इजरायली विदेश मन्त्रालयले फ्रिडम फ्लोटिला कोएलिसनका कुनै पनि कार्यकर्ताले इजरायल छाड्न नमाने उनीहरूविरुद्ध कानुनी कारबाही गरिने बताएको छ ।

इजरायली सेनाले सोमबार फ्रिडम फ्लोटिला कोएलिसन (एफएफसी)का कार्यकर्ताको मानवीय सहायता सामग्री बोकेर आएको जहाज रोकेको थियो । 

प्रकाशित मिति: मंगलबार, जेठ २७, २०८२  १४:३२
प्रतिक्रिया दिनुहोस्