
काठमाडौं । युरोपेली युनियन (ईयू)ले मंगलबार रूसमाथि नयाँ प्रतिबन्ध लगाउने घोषणा गरेको छ । घोषणामा रूसको ऊर्जा निर्यात, पूर्वाधार र वित्तीय संस्थाहरूलाई लक्षित गरिएको छ ।
युक्रेनमा युद्ध समाप्त गर्न रूसमाथि दबाब बढाउन यी प्रतिबन्ध घोषणा गरिएको पोलिटिको अनलाइनले जनाएको छ । यो प्रतिबन्धअन्तर्गत प्रतिब्यारेल तेलको मूल्य ६० डलरबाट घटाएर ४५ डलर पुर्याउने र नोर्ड स्ट्रिम पाइपलाइन प्रयोग गरेर रूस र जर्मनीबीच ग्यास पठाउन प्रतिबन्ध लगाउने प्रस्ताव समावेश छ ।
ईयू अध्यक्ष उर्सुला भोन डर लेयनले भनिन्, “२२ थप रूसी बैंकहरूलाई अन्तर्राष्ट्रिय बैंकिङ प्रणालीबाट काटिनेछ ।” उनले हालको आंशिक प्रतिबन्धलाई पूर्णप्रतिबन्धमा विस्तार गरिने पनि बताइन् ।
प्रतिबन्धहरूलाई मजबुत र कडा भन्दै लेयनले भनिन्, “युरोपेली संघका यसअघिका प्रतिबन्धहरूको दबाबमा रूसी अर्थतन्त्र पहिले नै कमजोर भएको छ । यो नयाँ प्रतिबन्ध प्याकेजले यसलाई अझ गलाउनेछ ।”
युरोपेली संघका उच्च कूटनीतिज्ञ काजा कल्लाससँग संयुक्त पत्रकार सम्मेलनमा उनले भनिन्, “रूसले युक्रेनमा मृत्यु र विनाश ल्याइरहेको छ । हाम्रो सन्देश युद्ध अन्त्य हुनुपर्छ भन्नेछ ।”
कल्लासले रूस शान्तिको पक्षमा नरहेको भन्दै उसले युद्धको लागि मूल्य चुकाउनुपर्ने भन्दै उनले भने, “रूस क्रर, आक्रामक र हामी सबैको लागि खतरा हो ।”
ईयूले रुसको युद्ध फन्ड कम गर्न भन्दै नयाँ तर कडा उपायहरूको लागि वाशिङ्गटनको समर्थन जुटाउने प्रयास गरेको बताएको छ । यो नयाँ प्रतिबन्ध प्याकेज क्यानडाको अल्बर्टामा यो हप्ता हुने जी–७ शिखर सम्मेलनअगाडि आएको हो । सम्मेलनमा नयाँ घटाइएको तेलको मूल्यबारे छलफल हुने बताइएको छ । युक्रेनलाई पनि यसमा सहभागी हुन आमन्त्रित गरिएको छ ।
युरोपेली संघका सदस्य देशहरूले आयोगको नयाँ प्रतिबन्ध प्रस्तावलाई तत्काल स्वीकृत गर्ने अपेक्षा गरिएको छ । यो महिनाको अन्त्यसम्ममा सम्झौता हुने विश्वास गरिएको छ । पोलिटिकोअनलाइन