site stats
बाह्रखरी :: Baahrakhari
खेल
एन्सेलोट्टीको प्रशिक्षणमा ब्राजिलको पहिलो जित, हारबाट जोगियो अर्जेन्टिना

काठमाडौं । ब्राजिलले इटालियन प्रशिक्षक कार्लो एन्सेलोट्टीको प्रशिक्षणमा पहिलो जित निकालेको छ । ब्राजिलले बुधबार बिहान घरेलु मैदानमा सम्पन्न फिफा विश्वकप–२०२६ दक्षिण अमेरिकी छनोटमा पराग्वेविरुद्ध १–० को जित निकालेको हो ।

ब्राजिलको जितमा भिनिसियस जुनियरले निर्णायक गोल गरे । उनले ४४औँ मिनेटमा गोल गर्दै ब्राजिललाई अग्रतामा राखेका थिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

ब्राजिलले एन्सेलोट्टीको प्रशिक्षणमा खेलेको यो दोस्रो खेल हो । यसअघि, पहिलो खेलमा ब्राजिल इक्वेडरसँग गोलरहित बराबरीमा रोकिएको थियो । 

जितसँगै १६ खेलबाट २५ अंक जोडेको ब्राजिल तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट २४ अंक जोडेको पराग्वे तालिकाको पाँचौँ स्थानमा छ । 

बुधबार नै भएको छनोटको अर्को खेलमा विश्वकप विजेता अर्जेन्टिनाले कोलोम्बियासँग १–१ को बराबरी खेलेको छ । अर्जेन्टिनामै भएको खेलमा १–० ले पछि परेको अवस्था उल्ट्याउँदै घरेलु टिमले खेलमा पुनरागमन बराबरी गरेको हो ।

खेलको २४औँ मिनेटमा लुईस डियाजको गोलमा कोलोम्बियाले अग्रता बनाएको थियो । तर, ८१औँ मिनेटमा थियागो अल्माडाले गोल गर्दै अर्जेन्टिनालाई खेलमा फर्काएका थिए । 

त्यसअघि, ७०औँ मिनेटमा मिडफिल्डर एन्जो फर्नान्डेजले रातो कार्डको दर्शन गर्दै मैदान छाडेपछि अर्जेन्टिना १० खेलाडीमा समेटिएको थियो ।

अर्जेन्टिनाले दक्षिण अमेरिकी छनोटबाट विश्वकपमा स्थान बनाइसकेको छ । १६ खेलबाट ३५ अंक जोडेको अर्जेन्टिना तालिकाको शीर्ष स्थानमा छ । समान खेलबाट २२ अंक जोडेको कोलोम्बिया तालिकाको छैटौँ स्थानमा छ 
 

प्रकाशित मिति: बुधबार, जेठ २८, २०८२  ०९:५५
प्रतिक्रिया दिनुहोस्