site stats
बाह्रखरी :: Baahrakhari
विदेश
हिंसात्मक प्रदर्शन नियन्त्रणमा लिन लस एन्जलसमा आंशिक कर्फ्यु

काठमाडौं । अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जलसमा आंशिक कर्फ्यु जारी गरिएको छ । लस एन्जेलिसकी मेयर करेन बासले आप्रवासीविरोधी कारबाहीविरुद्धको हिंसात्मक प्रदर्शन नियन्त्रण गर्न आंशिक कर्फ्युको घोषणा गरेकी हुन् ।

कर्फ्यु स्थानीय समयानुसार मंगलबार राति ८ बजेदेखि बुधबार बिहान ६ बजेसम्म लागु हुनेछ । “पूरै सहरमा धेरै क्षति भएकाले यो कदम आवश्यक छ,” मेयरले भनिन् ।

लस एन्जलसका प्रहरी प्रमुख जिम म्याकडोनेलले सहरमा बढ्दो अशान्तिपछि जनधनको सुरक्षा गर्न कर्फ्यु आवश्यक रहेको बताएका छन् । “यस अवधिमा कर्फ्यु उल्लंघन गर्ने कुनै पनि व्यक्तिलाई पक्राउ गरिनेछ,” उनले भने ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनका अनुसार, शनिबार २७ जना, आइतबार ४०, सोमबार ११४ र आजसम्म १९७ जना पक्राउ परिसकेका छन् ।

मेयर बासले आफू राष्ट्रपति डोनाल्ड ट्रम्पसँग संवाद गर्न प्रयासरत रहेको पनि बताएकी छन् । राष्ट्रपति ट्रम्पले तत्काल छापामार कारबाही रोक्ने निर्णय गर्नुपर्ने उनको भनाइ छ ।

यसैबीच, क्यालिफोर्नियाका गभर्नर गाभिन न्युसमले एक टेलिभिजन सम्बोधनबाट राष्ट्रपति ट्रम्पलाई लस एन्जलसको शान्तिपूर्ण अवस्था बिगारेको आरोप लगाएका छन् ।

उता, ट्रम्पले भने प्रदर्शनकारीले शान्ति र सार्वजनिक व्यवस्थामाथि आक्रमण गरेकाले सहरमा थप सैनिक तैनाथ गर्ने घोषणा गरेका छन् । क्यालिफोर्नियाका अधिकारीहरूले भने यस विषयमा आफूहरूलाई कुनै जानकारी नदिइएको बताएका छन् ।

एक अमेरिकी रक्षा अधिकारीले लस एन्जलस क्षेत्रमा अहिले करिब दुईहजार १०० नेसनल गार्ड सदस्य र ७०० मेरिन सैनिक तैनाथ रहेको बताएको सीबीएसले जनाएको छ ।

बीबीसीबाट ।

प्रकाशित मिति: बुधबार, जेठ २८, २०८२  ०९:४५
प्रतिक्रिया दिनुहोस्