
काठमाडौं । पोल्यान्डका फरवार्ड रोबर्ट लेवान्डोवस्कीले वर्तमान प्रशिक्षक मिचेल प्रोबिएर्ज रहेसम्म राष्ट्रिय टोलीबाट नखेल्ने घोषणा गरेका छन् ।
प्रशिक्षक प्रोबिएर्जले आइतबार लेवान्डोवस्कीको कप्तानी जिम्मेवारी खोसेका थिए । यसबाट रुष्ट लेवान्डोवस्कीले प्रोबिएर्ज रहेसम्म राष्ट्रिय टोलीबाट नखेल्ने घोषणा गरेका हुन् । प्रोबिएर्जले लेवान्डोवस्कीको कप्तानी जिम्मेवारी पिटर जिलिन्स्कीलाई सुम्पिएका थिए ।
“प्रशिक्षक मिचेल प्रोबिएर्जको निर्णयानुसार कप्तानी जिम्मेवारी पिटर जिलेन्स्कीलाई सुम्पिइएको छ । यसको जानकारी प्रशिक्षकले व्यक्तिगत रूपमै रोबर्ट लेवान्डोवस्की र टोलीका अरू सदस्यलाई दिइसकेका छन्,” पोलिस फुटबल संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यसको प्रतिक्रियामा लेवान्डोवस्कीले सामाजिक सञ्जालमा लेखेका छन्, “वर्तमान परिस्थिति र पोलिस फुटबल टोलीका प्रशिक्षकले गुमाएको भरोसालाई मध्यनजर गर्दै मैले उनी जिम्मेवारीमा रहेसम्म राष्ट्रिय टिमबाट नखेल्ने निर्णय लिएको छु । आशा छ, मैले फेरि विश्वकै उत्कृष्ट समर्थकमाझ खेल्ने अवसर पाउनेछु ।”
लेवान्डोवस्की पोल्यान्डका उच्च गोलकर्तासमेत हुन् । उनले राष्ट्रिय टोलीबाट हालसम्म १५८ खेलमा ८५ गोल गरेका छन् । लेवान्डोवस्की सन् २०१५ मा पोलिस टोलीको कप्तान नियुक्त भएका थिए ।