site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
मेरो हृदय जोडेको एउटै पुरूष : बुबा
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad
बुबा  !
बिहान झिसमिसेमै तपाईँ उठिसक्नुहुन्छ । खाक्कखुक्क खोकेको, कुकुरलाई डुलाएर ल्याउनुभएको, आफ्नो पूजा र जपका सामान सफा गरेको, ट्याङ्कीमा पानी भरेको, कौसीमा सर्‍याकसुरूक गरेको सबै सबै म सुनिरहेकी हुन्छु र सुन्दै ओच्छ्यान छाड्न नसकी तन्द्रामै पल्टिरहेकी हुन्छु । म उठिसक्दा तपाईँले घरको कौसीमा आफैँले बनाउनुभएको चुल्होमा ठूलो तामाको फोसीभर पानी उमालिसक्नुभएको हुन्छ । नुहाइधुवाइ गरेर जपपाठ सिद्धाइसक्नुभएको हुन्छ र तपाईँले मान्दै पूज्दै आउनुभएको देवताको स्थान सफा गरेर आमालाई पूजा गर्न सघाइरहनुभएको हुन्छ । साथमा रेडियो नेपालले बिहानैदेखि भक्तिसंगीत, स्वदेश गान र समाचारहरूबाट तपाईँलाई साथ दिइरहेको हुन्छ । म बल्ल उठेर यसो जिउ तन्काउन खोज्छु, दैनिक योगाभ्यास पनि अरूकै लागि गर्नु परेजस्तो अल्छी गर्छु । अनुलोमविलोम गर्दा तपाईँले माथिल्लो तल्लामा ठूलो आवाजमा बजाइरहनुभएको रेडियोमा ताल मिलाई मिलाई गर्छु । त्यसैमा ताल मिलाएर सूक्ष्म व्यायाम गर्छु । केटाकेटीले रेडियो सुन्दैनन् भनेर आफ्नो पूजा स्थानमा र सुत्ने कोठामै राख्ने गर्नुभएको छ त्यो रेडियो । तपाईँ अस्तिनै केही महिना (बहिनीले घुम्न बोलाएकोले) विदेश जानुहुँदा र बिरामी भएर अस्पताल बस्नुहुँदा म त्यो रेडियोलाई निकै मायाले हेर्थें र बिचरा त्यो रेडियोको एक्लिएको निस्सार अनुहार देखेर खुबै मन दुखाउँथे । यसो बजाउन खोजेको एकदिन, त्यसको झ्यार्रर आवाजले धन्नै तर्सिएको । झन् स्टेसन बिग्रेर मिलाउनै आएन । तपाईँ नहुँदा कति टिठलाग्दो देखिएको त्यो रेडियो ! 
बुबा, म सँधै हतारिँदै बिहान अफिसका लागि निस्कँदा ठूलो आवाजले गएँ है आमा भनेर चिच्याउँदै भन्छु । पँधेरा र तुलसा, पारिजात भएतिर वा करेसा बारी, आँगन पेटीमा आफ्नै धुनको काममा सुमसुम गरिरहनुभएका आमा र घरको सबैभन्दा माथि रहनुभएका तपाईँ दुवैले सुन्न सक्नुहोस् भनेर । खै किन हो, आएँ गएँ भन्ने आदत चाहिँ आमासँगै पर्दोरहेछ र पहिलो उच्चारण आमा नै आउँदोरहेछ । यसमा तपाईँको कहिल्यै न दुःखेसो न गुनासो रह्यो बुबा । त्यसो त छोरी छोरीमात्र जन्मे भनेर तपाईँलाई घरतिर र ससुरालीतिरका नातागोताले दोस्रो बिहे गर्न उक्साइरहँदा र आमालाई आफ्नै माइतीतिर बाटै पनि हेलाहोचो हुँदा पनि तपाईँले गर्वका साथ आमाको साथ छाड्नुभएन । हाम्रो गाथ छाड्नुभएन । आज पर्यन्त तपाईँ दम्पतीको त्यो प्रणय पलको सुखद आनन्द हाम्रो लागि कम गौरवमय छ र ? यस्तो अनन्य गौरव अनुभव कहाँ सबैले गर्न पाउँछन् र ? कहाँ सँधै यो अवस्था भइरहन्छ र समयसँग ? त्यसैले प्रकृतिको तीतो शाश्वत सत्य नियमविरुद्ध जान परे पनि परोस् बुबा तर यी हृदयले कहिल्यै कहिल्यै हामीबाट यो बात्सल्य नलुटोस्, नखोसियोस् भन्ने कामना छ समयसँग ।
जब तपाईँ मलाई सोध्नुहुन्छ नि – ‘तिमीले के खायौ त हिँड्न लागिछौ ?’ मलाई ढिलो भैसक्छ क्या, कहीँ नभएको ढिलो, अफिसमा हाजिर गर्न ढिलो, हाजिर हुन ढिलो । कहिलेकाहीँ बिदामै पनि परिणाम नआउने अन्य कामका लागि व्यर्थैको ढिलो । तब मलाई तपाईँलाई जबाफ दिइरहने फुर्सद नै कहाँ हुन्छ र ? बिदा हुँदा झन् बेजोडको काम हुन्छ बुबा, स्वतन्त्र काम । त्यसैले त म केही खान्न, अथवा खाना बोकेकी छु अथवा उतैतिर खान्छु बुबा भनिरहँदा म घरबाहिर पिँढीमा जुत्ता लगाउँदै हुन्छु । तपाईँ आमालाई ‘यसो खानेकुराको मेलोमेसो गरिदिएको भने हुने नि, बच्चाले केही नखाई गयो, कामै नभए नि फुर्सद नभा'की बूढी ।’ भन्दै आमालाई गुनासो गरिरहनुहुँदा तपाईँको धिमा आवाज प्रष्टै बुझ्छु म तर घरको मूल ढोका बाहिरै पुगिसकेकी हुन्छु ।  कहिलेकाहीँ तपाईँ म हिँड्न लागेको आफैँ चाल पाउनुहुन्छ र पच्छ्याउँदै आउनुहुन्छ, कम्ता हृदय निथोर्छ र बुबा ! जब तपाईँले थोरै पैसाको अपेक्षा गर्नुहुन्छ कारणसहित । जस्तो बारीका तरकारीका लागि मल खरिद, बीउबिजन खरिद, तपाईँको त्यो बूढो साइकल मर्मत वा बिजुलीपानीको बील तिर्न आदि यस्तै खत्र्याकखुत्रुक खर्चका लागि । स्कर्ट लगाएकी मेरो त्यो स्कूले समय, जतिबेला म तपाईँसँग मेरो आवश्यकताका लागि गोडा बजार्दै पैसा माग्थेँ । आज कस्तो काँचुली फेरिँएछ समयको, मैले बुबाको हातमा सकेको खर्च दिनपाउने र दिनसक्ने दुवै परिस्थिति जुटाइदिएको छ । धन्य छ, मेरो आकाश ! म यो पल एक एक गर्दै तपाईँका हरेक आवश्यकता र सेवामा दुरूस्त रहन सकूँ । विसं २०५० सालमै सेकेन्ड ह्यानड किनेको तपाईँको त्यो बूढो साइकल आजसम्म पनि बारीका लागि मलखाद खरिद बिजुली पानीको बील र अन्य आवश्यकतामा गुडिरहन्छ । साइकलको पाइडलसँगै समयले आज तपाईँलाई ६९ बसन्त पार गराउँदै गर्दा सँगसँगै मैले पनि आफ्नो समयको पाइडल घुमाइनैरहेकी छु बुबा । झिनामसिना कुरा पनि लेख्छ्यौ तिमी भन्नुहुन्छ मलाई, तर यिनै झिना र पिलन्धरे कुराले नै त सम्बन्धलाई दरिलो र खुकुलो दुवै बनाउँछ । म तपाईँकै सामु त्यो दुर्बल परिवारकी छोरी भनेर कसरी तपाईँ र आफ्नै अपमान बढाउन सक्छु बुबा ? त्यसमाथि मेरो हृदय जोडिएको दुनियाँमा त्यही एउटै पुरूष तपाईँ त हो बुबा । हामी भन्दैगइरहेका छौँ र त्यसैलाई मान्दै अनि त्यही मानिआएको मान्यतालाई स्थापित गर्दैगइरहेका छौं - हाम्रो समाज पितृप्रधान समाज हो । तर यसो भनिरहँदा मलाई कहिलेकाहीँ बेस्सरी छाती दुःख्छ । किनभने यही समाजभित्र पितृदासताले गर्दा भएको असमानता, अन्धविश्वास र अन्यायविरुद्ध म आफू स्वयं उभिरहँदा, लडिरहँदा तपाईँका सामु भने त्यसैगरी लड्नै सक्दिन, भन्नै सक्दिन । त्यो पितृदासता र सत्ता तपाईँसँग खै कहाँ छ ? कहिलेकाहीँ आमालाई गाली गर्दा प्रकट हुने स्वभाव सिवाय मेसै पाउँदिन । तर किन अरू घरका बुबा यस्तो हुनसक्दैनन् ? के तपाईँजस्तो हुन कठिन भएर हो ? तपाईँले आमालाई गाउँको अभाव जिन्दगीबाट र हामी छोरीहरूलाई पूर्ण शिक्षाबाट वञ्चित नगराउन आजभन्दा ४५-४६ वर्ष पहिले नै आफ्नो सर्वश्व त्याग गर्नुभयो । सम्पत्तिका नाममा जन्मस्थानको माटोको मायामात्र बोक्नुभयो । उचित उमेरभित्रै हामी सबै छोरीको शिक्षादिक्षा पूरा गरिदिनुभयो । काठमाडौंको कुनै गल्ली बाँकी रहेनन् डेरा सर्दा सर्दा । आमाको बिहेको तिल्हरी र हजुरआमाको चाँदीको बालासमेत बेचेर मट्टितेल र आलु, दाल किनेर नाइलनको झोलाभर ल्याउनुभएको हिजो जस्तै लागिरहन्छ । अनि मलाई थाहा छ, सानो जागिरको मासिक तलब कहिल्यै पूर्ण बुझ्न पाउनुभएन । पेस्की लिँदालिँदा फर्छ्यौट हुनै सकिँदैन थियो महिना कट्दा । खोई तपाईँको पूर्णकालीन सत्तामा मलाई त कहिल्यै दासता लागेन बुबा । तर समाज तपाईँजस्तै पिताजी र पुत्रहरूको दासतापूर्ण व्यवहारले किन हाम्रो परिवारभन्दा फरक छ ? किन पितृप्रधान समाज भन्दा हामी गर्विलो हुने अवस्था बनाइरहेका छैनौं बुबा ?
जब हामी सपरिवार  खान बस्छौं तपाईँ अधिकांश यो वाक्य भनिहाल्नुहुन्छ – हो, यस्तरी सबै जना बसेर खाएको मलाई कम्ती आनन्द आउँदैन । घरको मीठोमसिनो खाना सबैको पेटमा पुग्छ । आँत कति रसिलो देखिन्छ बुबा तपाईँले यसो भनिरहनुहुँदा । यो तपाईँको आनन्दीपन सँधै सँधै दिने कोसिस गर्छु बुबा । आजकल त घर भनेको चाउचाउ, चिया र मोबाइल बन्ने गर्छ रे बुबा । म पनि बुबा र आमा नहुँदा झन्डै त्यस्तै भैसकेकी थिएँ । घरको चुल्हो बल्न कैयौं दिन लाग्थ्यो । घरभित्रै पनि एक्लाएक्लै, परिवारभित्रै पनि एक्लाएक्लै । उसका सम्पूर्ण साथी मोबाइल र चाउचाउ अनि चाउचाउजस्तै फास्टफुड । हुन पनि संसार त्यहीँ नै आउँछ त बुबा । हातभरिको मोबाइल अलिकति शरीरलाई कष्ट भनेको गर्धन घोप्टो पर्नुपर्छ, औंलो सक्रिय हुनुपर्छ बस् । समयको पाइडल तपाईँको साइकलभन्दा पनि बेजोडले कुद्छ । बिहान घरमा छोडेर हिँडेपछि तपाईँले के खानुभयो, कसरी दिन बिताउनुभयो ? औषधि समयमा लिनुभयो कि भएन ? तपाईँलाई भनेर छुट्टै बनाएको नपिरो अचार र तरकारीको सट्टा अर्को तरकारी खान झुक्किनु पो भयो कि ? ढिँडो र साग आफैँ पकाउँछु भन्नुभएथ्यो खानुभयो त होला नि भन्दै मनमा तर्कना आउँछ बुबा । सम्झेर फोन पनि त गर्छु बेला बेला । साँझ जब खाना खाइसकेपछि तपाईँसँग गफिने अवसर लिन मनलाग्छ केही छिन तपाईँ र आमासित टीभी हेर्ने अवसर छुटाउन मनलाग्दैन । त्यतिखेर तपाईँ झुल्नुभएको हेरिरहन्छु र मेरो त्यो अबोध बालापन नुनु आएर तपाईँको कोखिलामा झुलिरहेको कल्पना गर्छु । तपाईँले रूचाउनुभएको टीभी कार्यक्रम छुट्छ भनेर बिस्तारै बोलाउँदै उठाउँछु । तर फेरि तपाईँ झुलिसक्नुभएको हुन्छ, खानका लागि ठिक्क पारेको सातथरिका औषधिका ट्याब्लेटहरू हत्केलाबाट काखभरि पोखिइसकेको हुन्छ । हाँस्दै ती ट्याब्लेट टिप्न पनि आनन्दै लाग्छ । किनभने एकपटक फेरि म लगाइसकेको स्कुलको ट्युनिकभरि खाना खाँदा पोखेको दाल, तरकारी सम्झेर रुमानी यादले आल्हादित बनिसक्छु । 
त्यो र यो समय आज कस्तो कायापलट ? हे विशाल गगन ! यो साथ र सामर्थ्य दिइरहू है सँधै । 
बुबा ! आज बुबाको मुख हेर्ने दिन हो । नेपाली समाजमा सबै धर्म, जाति र वर्गका परिवारले बुबाको मुख हेर्ने दिनलाई समानरूपमा महत्वका साथ मनाउने गर्छन् । असाध्यै असाध्यै मनपर्छ मलाई बुबा र आमाको मुख हेर्ने दिन । तर सबैले मान्ने यो पवित्र दिनमा किन सार्वजनिक बिदा नगरेको होला सरकारले ? जब कुनै जाति र धर्म विशेषका चाडपर्वमा सार्वजनिक छुट्टी दिने गरिएको छ भने सबै जाति, धर्म, वर्गका छोराछोरीले बुबा र आमाको मुख हेर्ने एउटा साझा र महत्वपूर्ण पर्वमा किन छुट्टी नदिइएको होला ? मेरो मनमा यो प्रश्न कक्षा ७ मा पढेदेखिकै हो र आज पनि उस्तै छ । बुबाप्रति सम्मान, आदरभाव र घरका ज्येष्ठ अभिभावकसँगको सम्बन्ध न्यानो, ओझपूर्ण र सद्भावपूर्ण बनाइराख्न सकियोस् भन्ने प्रमुख सन्देश र सचेतता पनि हो यो पर्वको महत्त्व । हामी सबै छोरीहरू र बुबाआमाबीच पवित्र र अविचलित गठबन्धनलाई थप न्यानो र गहिराइपूर्ण बनाउन सकौँ । बुबा!  यस अवसरमा समयसँग यही कामना गर्छु । तपाईँको सुस्वास्थ्य, दीर्घ जीवन, स्नेही र स्निग्ध अनुहार सँधै हाम्रो लागि शक्ति बनिरहोस् । शुभकामना !
 
 
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ १६, २०७३  ०८:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro