
विराटनगर । सिरहाको कल्याणपुरका सफिर मियाँलाई आज गाडी नचल्नेबारे जानकारी थिएन । उपचार गर्न विराटनगर आएका उनी घर फर्किन सोमबार बिहान ४ बजे नै बसपार्क पुगे । बसपार्क पुगेपछि मात्रै थाहा भयो– आज गाडी चल्दैनन् ।
उनको शरीरमा अझै ज्वरो छ । चिकित्सकले घरमै औषधि खाएर आराम गर्न भनेका छन् । तर, घर फर्कन नपाउँदा उनी सोमबार बसपार्क अगाडिको फलैँचामा ढल्किरहेका थिए । गाडी नपाउँदा आफूजस्ता धेरै यात्रीको बिजोग भएको उनले सुनाए ।
स्वास्थ्य उपचारसहित विविध कामले विराटनगर आएका यात्री अलपत्र परेका छन् । विराटनगरमा बिहानैदेखि सवारीसाधन चलेका छैनन् । गाडी नचल्दा विराटनगर बसपार्क क्षेत्रमै यात्री अलपत्र परेका छन् । खासगरी मधेस प्रदेशबाट विराटनगरका विभिन्न अस्पतालमा उपचार गर्न आएका र फर्कने तयारीमा रहेकाहरू समस्यामा छन् ।
जनकपुरबाट उपचारमा न्युरो अस्पतालमा उपचार गराउन आएका मुसाफिर नदीम दुई छोराछोरीसहित विराटनगर बसपार्क क्षेत्रमा छन् । गाडी नचल्नेबारे जानकारी नहुँदा समस्या भएको उनले बताए ।
होटेलमा बस्ने पैसा नभएको र सडक किनारमै उभिएर बिहानैदेखि बसको प्रतीक्षामा रहेको उनले सुनाए । साँझसम्म पनि गाडी नखुले अस्पताल फर्किएर त्यहीँ रात बिताउने योजना उनको छ ।
यातायात बन्दको पूर्वजानकारी नभएकाले उपचार गर्न आएका धेरै यात्री अलपत्र परेका छन् । उनीहरूले गाडी नचल्दा निकै सास्ती खेप्नुपरेको बताएका छन् ।
उपचारका लागि लहानबाट विराटनगर आएका शिवनारायण राम पनि अलपत्र अवस्थामै बसपार्क क्षेत्रमा भेटिए । घर फर्किन पाइने/नपाइने टुंगो नभएको उनी बताउँछन् ।
बन्दको जानकारी नपाएका सिरहाका देव साह भारत ससुरालीबाट फर्किएर विराटनगर आइपुगे । तर, घर फर्कन पाएनन् । चार छोराछोरीसहित बसपार्कमा भेटिएका उनी त्यही सुस्ताइरहेका थिए ।
छोटो दुरीका यात्री भने अटो सफारी चढेर गन्तव्यसम्म पुगिरहेका छन् । तर, लामो यात्रामा जानुपर्नेलाई कठिनाइ भएको हो । अस्पतालले डिस्चार्ज गरेका कतिपय यात्रु बेखर्ची भएर बसपार्क क्षेत्रमै बसिरहेका छन् ।