site stats
बाह्रखरी :: Baahrakhari
कला
गरिमा शर्मा भन्छिन्– टिकटकको लिप्सिङलाई अभिनय भन्न मिल्दैन

काठमाडौं । नायिका गरिमा शर्माले टिकटकमा भिडियो बनाएकोलाई अभिनय भन्न नमिल्ने बताएकी छन् । टिकटकका भिडियोमा लिप्सिङ गरेकै भरमा त्यसलाई अभिनय भन्न नहुने उनको बुझाइ छ । 

“टिकटकमा त लिप्सिङ हुन्छ । अरूको गीत वा भ्वाइसमा लिप्सिङ गर्ने हो । त्यसलाई अभिनय भनिँदैन जस्तो लाग्छ,” आइतबार चलचित्र जन्ते बाख्रो निर्माणपक्षले गरेको पत्रकार सम्मेलनमा उनले भनिन्, “टिकटकले पहिचान दिन्छ । अभिनय गर्न सिकाउँछ भन्ने लाग्दैन ।” 

आफूले पहिचान अर्थात् नोटिस हुनकै लागि टिकटक बनाउने गरेको गरिमाको भनाइ छ । आफूलाई अभिनय गर्ने रहर भएकैले नोटिस हुनका लागि गीतमा लिप्सिङ गरेर भिडियो बनाउने गरेको उनले सुनाइन् । त्यसैले लिप्सिङलाई अभिनय हो भन्न उनी तयार छैनन् ।

Argakhachi Cement Island Ad

“मेरो सात पुस्तामा कोही अभिनयमा छैन । तर, मलाई अभिनयमा आउनुपर्नेथियो,” गरिमा भन्छिन्, “कसरी आउने भन्ने थाहा थिएन । त्यसैले टिकटकमा भिडियो बनाएर पोस्ट गर्थें ।” 

टिकटकबाटै आफू नोटिस भएको उनको भनाइ छ । टिकटकले आफूलाई चितवनबाट काठमाडौं ल्याएको उनले सुनाइन् । 

“म चितवनमा बसेको मान्छेलाई टिकटकले काठमाडौं ल्यायो । यही सिनेमासम्म पुग्ने माध्यम बन्यो,” गरिमा अगाडि थप्छिन्, “अब सिनेमामा कसरी काम गर्ने, कस्तो अभिनय गर्ने त्यो त ममा भरपर्ने कुरा भयो ।” 

टिकटकमा भिडियो नै बनाएर अपलोड गर्नेहरूको अभिनयले म्युजिक भिडियोसम्म चाहिँ काम दिने उनको अनुभव छ । 

चलचित्र ‘जन्ते बाख्रो’मा गरिमा मुख्य भूमिकामा छिन् । सौगात मल्लको अपोजिटमा उनलाई यो चलचित्रमा देख्न सकिन्छ । यसअघि पनि उनले ‘लन्डन टु पेरिस’ र ‘ह्रस्व दीर्घ’मा काम गरेकी थिइन् । तर, यी चलचित्रमा उनी मुख्य भूमिकामा थिइनन् । 

‘जन्ते बाख्रो’ले आफूलाई विदेशिनबाट रोकेको उनले बताइन् । ब्याचलर्स सकेर अब विदेश जाने कि नेपालमै बस्ने भनेर सोचिरहेका बेला ‘जन्ते बाख्रो’बाट आएको अफरले आफूलाई विदेश जानबाट रोकेको उनले जानकारी दिइन् । 

‘जन्ते बाख्रो’ यही शुक्रबारबाट प्रदर्शनमा आउँदै छ । ‘जन्ते बाख्रो’मा गरिमासँगै सौगात मल्ल, आसिफ शाह, विशाल पहारी, कमल देवकोटा, लोकेन्द्र लेखक, समापिका गौतमलगायतको अभिनय छ । 

निर्देशक सिमोस सुनुवार हुन् भने लेखक प्रदीप भारद्वाज हुन् । निर्माता सन्तोष गौतम हुन् ।

सिनेमामा हरि हुमागाईंको छायांकन निर्देशन, उत्तम हुमागाईंको छायांकन र सुनील शिवभक्तिको सम्पादन छ ।
 

प्रकाशित मिति: सोमबार, जेठ १९, २०८२  ११:०१
प्रतिक्रिया दिनुहोस्