
रुकुम पश्चिम । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१०, चौरगाउँमा उत्पादित १०३ क्विन्टल लसुन काठमाडौं पठाइएको छ । गाउँका २८ घरपरिवारले उत्पादन गरेको लसुन काठमाडौं पठाइएको हो ।
वडा कार्यालयको सहजीकरणमा लसुन काठमाडौं पठाइएको वडाध्यक्ष धनबहादुर खड्काले जानकारी दिए । उनका अनुसार, चौरगाउँका खीमबहादुर ओलीले यस याममा सबैभन्दा बढी १३ क्विन्टल ३० किलो लसुन बिक्रीका निम्ति काठमाडौं पठाएका छन् । सबैभन्दा कम रमेश ओलीले एक क्विन्टल चार किलो बिक्री गरेका हुन् ।
चौरगाउँमा उत्पादित लसुन अझै बिक्री गर्न बाँकी रहेको वडाध्यक्ष खड्काले बताए । लसुनलाई तीन ग्रेड (ए, बी र सी)मा विभाजन गरेर बिक्री गरिएको छ ।
किसानले ‘ए’ ग्रेड लसुन प्रतिकिलो १२५ रुपैयाँमा बिक्री गरेका छन् । ‘बी’ ग्रेडलाई १०५ र ‘सी’ ग्रेड लसुन प्रतिकिलो ६० रुपैयाँमा बिक्री गरेका छन् ।
अब क्रमशः वडाका खर्सुपानी, गलम्पाटी, नमुनाबस्ती र खड्का टोलमा उत्पादित लसुन बिक्री गर्ने तयारी गरिएको छ । उक्त लसुन बिक्रीबाट डेड करोड रुपैयाँ भित्रने वडा कार्यालयले अनुमान गरेको छ । हाल वडामा २५० किसानले व्यावसायिक लसुन खेती गर्दै आएका छन् । रासस