
काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले देशका ७३ जिल्लालाई लिजमा दिन व्यंग्यात्मक प्रस्ताव गरेपछि संसद्मा हंगामा भएको छ । आइतबार प्रतिनिधिसभामा बजेटमाथिको छलफलका क्रममा सांसद सिंहले देशको बजेट पाउने चार–पाँचवटा 'भाग्यमानी जिल्ला'लाई नेपालमा राखेर बाँकी जिल्लालाई लिजमा दिन व्यंग्य गरेका थिए ।
“हरेक वर्षजस्तो बजेट निश्चित जिल्लामा मात्र जान्छ । चार–पाँचवटा मात्र भाग्यमानी जिल्ला छन्,” सिंहले भने, “यदि यस्तै हो भने यी चार–पाँच जिल्लालाई नेपालभित्र राखौँ । बाँकी ७२/७३ जिल्लालाइ लिजमा दिऊँ । अमेरिका, भारत कसलाई दिने हो दिऊँ ।”
उनको अभिव्यक्तिपछि नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले सिंहको नियमापत्ति गरेका थिए । “सभामुख महोदय, एउटा सांसदलाई रोस्ट्रममा उभिएर देशलाई कुनै देशमा गाभौँ भन्ने अधिकार छैन । यो अभिव्यक्ति आपत्तिजनक मात्र छैन, संसद्को रेकर्डबाट हटाएरमात्र पुग्दैन । कारबाहीको विषय बन्नुपर्छ ।”
त्यसपछि सभामुख देवराज घिमिरेले सिंहको अभिव्यक्ति असंसदीय रहेको बताए । उनले सिंहको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन निर्देशन दिए ।
सभामुखको निर्देशनपछि सिंह थप आक्रोशित भए । “सत्तापक्षलाई रुलिङ नगर्ने, हाम्रा लागि मात्र रुलिङ हुने ? कुनै पार्टी विशेषको तर्फबाट गरेको रुलिङ मान्न बाध्य छैनौँ,” सिंहले भने, “तपाईं बजेट सन्तुलितरूपमा वितरणका लागि किन रुलिङ गर्न सक्नुभएन ? किन हाम्रो विषयमा मात्र बार बार रुलिङ गर्नुहुन्छ ?”
सिंहले रुलिङ नमान्ने बताएपछि सत्तापक्षका सांसदले सिंहलाई कारबाहीको माग गर्दै नाराबाजी गरे । सिंहले भने सत्तापक्षका सांसदलाई रोस्ट्रमबाटै जवाफ फर्काएका थिए । 'राष्ट्रवाद कसैको ठेक्का नभएको' बताएका सिंहले आफ्नो राष्ट्रियतामा कसैले प्रश्न उठाउन नसक्ने बताए ।
प्रतिवादमा उत्रिएपछि सभामुखले सांसद सिंहलाई सम्बन्धित विषयमा मात्र बोल्न आग्रह गरे । नभए रोस्ट्रमबाट तल जान निर्देशन दिए । तर, उनले आफूले सात मिनेट समय पाएकाले आफू तोकिएको समयमसम्म रोस्ट्रममै बस्ने बताए । सभामुखको निर्देशनपछि पनि उनी बोल्न छाडेनन् । उनले आफू र रास्वपालाई सत्तापक्षले कमजोर पार्ने प्रयत्न गरेकोसहितका विषय बोलिरहे ।