
काठमाडौं । भारतले गत जनवरीदेखि एक हजारभन्दा बढी भारतीय नागरिक अमेरिकाबाट डिपोर्ट भएको बताएको छ ।
भारतीय विदेश मन्त्रालयले गत जनवरी महिनादेखि एक हजारभन्दा बढी भारतीय नागरिक अमेरिकाबाट फर्किए वा डिपोर्ट भएको बताएको बीबीसीले जनाएको छ ।
विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले तीमध्ये करिब ६२ प्रतिशत नागरिक व्यावसायिक उडानमा फर्किएको बताए । तर, यसबारे थप विस्तृत विवरण दिएनन् ।
यो घटनाक्रम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दस्तावेज वा कागजातविहीन विदेशी नागरिकविरुद्ध चलाएको अभियानको पृष्ठभूमिमा आएको हो । ट्रम्पले यसअघि भारतले अवैध प्रवासीहरूको डिपोर्टेसनमा उचित कदम चाल्ने बताउँदै आएको थियो ।
गत फेब्रुअरीमा अमेरिकाले सैन्य जहाजमा सयभन्दा बढी भारतीयहरूलाई डिपोर्ट गरेको थियो । यसमा केहीलाई हातखुट्टा बाँधेर ल्याइएको समाचार थियो ।
“आप्रवासन मुद्दामा भारत र अमेरिकाबीच नजिकको सहयोग छ,” जायसवालले मन्त्रालयको साप्ताहिक पत्रकार सम्मेलनमा यो जानकारी दिँदै भने, “हामीले फिर्ता लिनुअघि उनीहरूको नागरिकता प्रमाणित गर्छौँ ।”
अमेरिकाले हालसम्म करिब १८ हजार भारतीय नागरिकहरूलाई अवैध रूपमा देश प्रवेश गरेकोे बताइन्छ ।