
काठमाडौं । नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा नआएसम्म आफूहरूको आन्दोलन जारी रहने बताएको छ । सभामुख देवराज घिमिरे र दलका प्रमुख सचेतकबीचको छलफलपछि सञ्चारकर्मीसँग कुरा माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले यस्तो बताएका छन् ।
देश, जनता, जिम्मेवारीवोध, संविधान र व्यवस्थाविरुद्धका क्रियाकलापलाई सम्झिएर बिहीवार संसद्मा बजेट प्रस्तुत गर्न दिएको उनले बताए । उनले आफूहरूका माग हल गर्ने जिम्मेवारी सरकारको भएको उल्लेख गरे ।
“हामीले १५ गतेका तीनवटा कार्यक्रमका लागि मात्रै संसद्लाई अगाडि बढाउन दिएका हौँ । त्यसपछि हाम्रो आन्दोलन यथावत् छ,” उनले भने, “त्यो विषय बदमासी, राजनीतिक रूपमा मानव तस्करीसँग जोडिएको विषयवस्तु छ । यसलाई करेक्सन नगरी हामी आफ्नो ठाउँमा जान सक्दैनौँ ।”
भिजिट भिसामा विदेश जानेहरूसँग लाखौँ असुली गरिएको र यस प्रकरणमा गृहमन्त्री रमेश लेखकको पनि संलग्नता रहेको आरोप लगाउँदै विपक्षीले उनको राजीनामा माग गर्दै आएका छन् ।न्युज एजेन्सी नेपाल