site stats
बाह्रखरी :: Baahrakhari
खेल
एसीसी यू–१६ : सिंगापुरसित पहिलो खेल खेल्दै नेपाल

काठमाडौं । मलेसियामा आज (जुन २२)देखि एसीसी पुरुष यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिता सुरु हुँदै छ । एसियाली क्रिकेट परिषद् (एसीसी)को वार्षिक कार्यतालिकाअनुसार प्रतियोगिता हुन लागेको हो ।

नेपालले यस दिन सिंगापुरसँग आफ्नो पहिलो खेल खेल्दै छ । मलेसियाको यूकेएम ओभलमा उक्त खेल नेपाली समयानुसार बिहान ७ः४५ बजे सुरु हुनेछ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नेपाली टोलीको कप्तानी विपीनप्रसाद शर्माले गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले केही दिनअघि शर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको थियो ।

नेपाली टोलीको उपकप्तानमा सुर्याशुं कोइराला र अरू खेलाडीमा परिमार्जन यादव, शिवान्श बजगाईं, रौनक श्रीवास्तव, अभय यादव, सचिन भट्ट, सुगम बुढाथोकी, सुयोग भट्टराई, सुशील रावल, शुभम खनाल, प्रसिद्ध जैशी, जोय थापा र रोशन शाही छन् । नेपाली टोलीको प्रशिक्षकमा दीपेन्द्रबहादुर चन्द रहेका छन् ।

प्रतियोगितामा नेपालसहित १० टोलीको सहभागिता छ । समूह ‘ए’मा नेपालसहित सिंगापुर, इन्डोनेसिया, भुटान र जापान छन् । समूह ‘बी’मा आयोजक मलेसियासहित हङकङ, माल्दिभ्स, थाइल्यान्ड र म्यानमार छन् । नेपाल हालसम्म सम्पन्न तीन संस्करणको च्याम्पियन हो ।

नेपालले दोस्रो खेलमा मंगलबार जापानसँग, तेस्रो यही असार १५ गते इन्डोनेसियासँग खेल्नेछ । समूह चरणको अन्तिम खेल नेपालले असार १७ गते भुटानसँग खेल्नेछ । दुवै समूहबाट विजेता र उपविजेता सेमिफाइनलमा प्रवेश गर्नेछन् । रासस

प्रकाशित मिति: आइतबार, असार ८, २०८२  ०७:११
प्रतिक्रिया दिनुहोस्