
काठमाडौं । अमेरिकाले शनिबार इजरायलको तेल अभिभबाट ग्रीसको एथेन्ससम्म दुई उडानमार्फत आफ्ना नागरिकको उद्धार गरेको विदेश मन्त्रालयका एक अधिकारीले सीएनएनलाई बताएका छन् । इजरायल र इरानबीचको द्वन्द्व दोस्रो हप्तामा प्रवेश गर्दा र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य विकल्पबारे विचार गरिरहेका बेला यो उद्धार गरिएको हो ।
करिब ७० अमेरिकी नागरिक, तिनका नजिकका परिवारका सदस्य र वैधानिक स्थायी बासिन्दाको उद्धार गरिएको ती अधिकारीले बताए ।
इजरायलका निम्ति अमेरिकी राजदूत माइक हकाबीले शनिबार बिहान सामाजिक सञ्जाल एक्समा एक पोस्टमार्फत विदेश मन्त्रालयले सहायता प्राप्त उद्धार उडान सुरु गरेको घोषणा गरेका थिए ।
विदेश मन्त्रालयले इजरायलमा रहेका अमेरिकी नागरिकले सहायता चाहेमा संकट इन्टेक फारम भर्नुपर्ने जनाएको छ ।
“आफैँ प्रस्थान गर्न सक्षम अमेरिकी नागरिकले अमेरिकी सरकारको सहायताका निम्ति नपर्खनुहोला,” विदेश मन्त्रालयका ती अधिकारीले भने ।