
काठमाडौं । इरानका आणविकस्थलमा आक्रमणपश्चात् अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रका नाममा सम्बोधन गरेका छन् । सम्बोधनमा उनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र इजरायली सेनालाई धन्यवाद दिएका बीबीसीले जनाएको छ ।
सम्बोधनमा ट्रम्पले अमेरिकाले अझै धेरै ठेगानालाई निसाना बनाउन बाँकी रहेको बताए । उनले भने, “अब इरानले शान्तिको बाटो अपनाउनुपर्छ । यदि, उनीहरूले त्यसो गरेनन् भने भविष्यमा हुने आक्रमण अझ ठूला र सजिला हुनेछन् ।”
इरानका आणविकस्थलका विषयमा ट्रम्पले भने, “मानिसले यी ठाउँहरूको नाम वर्षौंदेखि सुन्दै आएका छन्, किनभने त्यहाँ खतरनाक र विनाशकारी योजना तयार हुँदै थियो ।”
उनले अगाडि थपे, “म विश्वलाई के भन्न चाहन्छु भने आज रातको आक्रमण पूर्ण रूपमा सफल भएको छ ।”
इरानलाई थप चेतावनी दिँदै उनले भने, “अब कि शान्ति आउनेछ कि इरानका निम्ति यस्तो त्रासदी आउनेछ, त्यो पछिल्ला आठ दिनमा देखिएका घटनाभन्दा धेरै ठूलो हुनेछ ।”
ट्रम्पले शनिबार राति राष्ट्रका नाममा छोटो सम्बोधन गरेका हुन् । उनले भने, “भोलि जनरल केन, रक्षासचिव पिट हेग्सेथले बिहान ८ बजे पेन्टागनमा प्रेस सम्मेलन गर्नेछन् ।”