
काठमाडौं । पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले सरकारका अनावश्यक संरचना हटाउने र सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा बजेट मौन रहेको टिप्पणी गरेका छन् । बिहीबार (जेठ १५) संघीय संसद् बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पेस गरेको आर्थिक वर्ष २०८२/८३ को बजेटबारे प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।
सरकारी संरचनालाई छिटोछरितो बनाउने विषयमा बजेटमा सम्बोधन नगरिएको उनले उल्लेख गरे । उनले स्थानीय मदिराको ब्रान्डिङ तथा व्यावसायीकरणको विषय समेत बजेटमा सम्बोधन नगरिएको बताए ।
आफू अर्थमन्त्री भएको समयमा कार्यविधि अगाडि बढिसकेको भए पनि आउँदो आर्थिक वर्षको बजेटमा स्थानीय मदिरा ब्रान्डिङको विषयमा मौन रहेको उनले टिप्पणी गरे ।
“बजेट सरकारी संरचनाहरूलाई छिटोछरितो बनाउने र अनावश्यक संरचनाहरू हटाउने कुरामा बजेट मौन छ । जाँडलाई ब्रान्डिङ गर्ने कुरा मैले पनि बजेटमा बोलेको थिएँ,” उनले भने, “त्यो कार्यविधि अगाडि पनि बढेको थियो । यसपटकको बजेट त्यसमा पनि मौन छ । सम्रगमा विनियोजनको विधेयक प्राप्त भएपछि परिणामुखी कति छ भन्ने कुरा आउँछ ।”
उनले तीन करोड रुपैयाँभन्दा तलका योजना नराख्ने सरकारको निर्णय स्वागतयोग्य रहेको बताए । न्युज एजेन्सी नेपाल