
काठमाडौं । गणतन्त्र दिवस अर्थात् बिहीबार (जेठ १५) काठमाडौंको रत्नपार्क क्षेत्रमा राजावादीले शान्तिपूर्ण प्रदर्शन गरे । राजसंस्था पुनर्स्थापनको माग गर्दै दिउँसो २ बजेदेखि उनीहरू रत्नपार्कमा उत्रिएका थिए ।
यस दिन ३५ सयको हाराहारीमा राजावादी प्रदर्शनमा सहभागी भएका प्रहरी अधिकारीको दाबी रहे पनि सो समूहले भने हजारौँको संख्यामा रहेकाे बताएको छ । “शान्तिपूर्ण रूपमा प्रदर्शन सकियो । करिब ३५ सयजति मानिस सहभागी भएको प्रारम्भिक रिपोर्ट पाएका छौँ,” ती प्रहरी अधिकारीले बाह्रखरीसित भने ।
तर राजावादी समूह प्रहरीको यो अनुमान मान्न तयार छैनन् । उनीहरूले दशौँ हजारको संख्यामा उपस्थित भएको दाबी गरेका छन् ।
गएको चैत १५ गते तीनकुनेमा राजावादीको प्रदर्शन हिंसात्मक बनेको थियो । त्यसक्रममा दुईजनाले ज्यान गुमाएका थिए । केही मानिस घाइते भएका थिए । निजी घर, कार्यालय, सवारीसाधनमा आगजनी, तोडफोड गरिएको थियो ।
बिहीबारको प्रदर्शनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेन, सचेतक ज्ञानेन्द्र शाही, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राजसंस्था पुनर्स्थापनाका निम्ति गठित ‘संयुक्त जनआन्दोलन समिति’का संयोजक नवराज सुवेदीलगायत राजावादी सहभागी भए ।
उपत्यकाका विभिन्न सात ठाउँबाट जुलुस निकालेर राजावादी रत्नपार्क पुगेका थिए । राजावादीको भेलामा बैतडीका ५२ वर्षीय प्रेमबहादुर चन्द भेटिए । उनले आफू गाउँमा खेतीकिसानी गर्ने र स्वतःस्फूर्त रूपमा प्रदर्शनमा सहभागी हुन आएको बताए ।
“परम्परागत शक्तिहरूलाई मान्दै देश विकास गर्नुपर्छ भन्ने मान्यताका साथ म काठमाडौं आएको हुँ । राजाको पालामा शान्ति, सुरक्षा, अमनचयन थियो । देशमा २४ वटा उद्योग थिए । अहिलेका राजनितिक दलहरूले यो सबै सकाए । गणतन्त्र राम्रो भएन । सिन्डिकेट भयो,” उनले भने ।
प्रदर्शनमा सहभागी राप्रपा नेपालका केन्द्रीय सदस्य एवं उक्त पार्टीका दोलखा अध्यक्ष ४७ वर्षीय नवराज श्रेष्ठले राजसंस्था पुनर्स्थापना गरिने बताए । “राजाको पालामा युवाहरू देशमै काम गर्नुपर्छ भन्ने मानसिकता थियो । तर, २०४७ सालपछि युवाहरूले देश छोड्ने अवस्था आयो । ६/७ वर्षपछि कर पनि नउठ्ने अवस्था आउँदै छ देशमा । गाउँमा कोही बित्नुभयो भने घाटमा लैजाने मान्छे छैनन् । गणतन्त्र होइन लुटतन्त्र हो । राजतन्त्र पुनर्स्थापना गर्ने हो,” उनले भने ।
नुवाकोटका ‘किसान’ ५३ वर्षीय रमेशबहादुर भेटवालले भने, “राजतन्त्र भारतले फालेको हो । प्रधानमन्त्रीको ठाउँमा प्रत्यक्ष कार्यकारी चाहियो भन्ने माग हो । स्वस्फूर्त रूपमा आएका हौँ । तीनकुनेमा राज्यले नै हुलदंगा गर्यो । जनताले गर्दैन । प्रधानमन्त्रीले मानसिक सन्तुलन गुमाउनुभयो । यसका विरुद्ध हामी यहाँ आएका हौँ ।”
बैतडीकै ५० वर्षीय अम्बादत्त भट्ट पनि राजावादीको प्रदर्शनमा भेटिए । उनी वैशाखीको सहारामा रत्नपार्क आएका थिए । “म शारीरिक रूपमा अशक्त छु । तर पनि म आएँ,” उनले भने, “राष्ट्रियता सबैभन्दा ठूलो कुरा हो । अहिले गणतन्त्रका नाममा हाम्रो राष्ट्रियता बेचियो । मलाई देशको माया लागेर आएको हुँ ।”
काठमाडौंको माछापोखरीका ७२ वर्षीय कृष्णप्रसाद फुयाँलले भने, “गणतन्त्र कसको निगाहमा आयो जगजाहेर छ । त्यसैले हामीलाई राजतन्त्र चाहियो । यसका लागि संविधान संशोधन गर्नुपर्छ ।”
आफूलाई राष्ट्रवादी भन्न रुचाउने नवलपुरका ६७ वर्षीय कृष्णप्रसाद लुईंटेलले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिपछि आक्रोशित भएर प्रदर्शनमा सहभागी भएको बताए । “आज देशबाट युवाहरू बेचिएका छन् । हामीलाई यो देशको माया छ । चाहेको भए टायर बान्न सक्थ्यौँ, तर त्यो चाहन्नौँ । प्रधानमन्त्रीको आपत्तिजनक अभिव्यक्तिपछि हाम्रो आवाज बुलन्द गर्न यहाँ आएका हौँ,” उनले भने ।
गाडी चालकको काम गर्दै आएका मोरङका ६३ वर्षीय देवेन्द्र थापाले जनताको आवाज बुलन्द गर्न आफू काठमाडौं आएको बताए । “प्रधानमन्त्रीको पदमा रहेका मान्छेले नै जनताको आवाजलाई थिचोमिचो गरे । राष्ट्रघात भयो । पार्टीका कार्यकर्ताहरूलाई पोस्ने ?,” उनले भने, “राजाको पालामा बनेको सडक र राजाकै पालामा बनेको सिंहदरबारबाट शासन गर्ने, अनि राजाको पालामा केही बनेको थिएन भनेर सुहाउँछ ? जनतालाई अनागरिक बनाए । जनता उठेपछि अब जे पनि हुन्छ ।”
मोरङकै विराटनगरमा शिक्षण पेसा गर्दै आएका विष्णुबहादुर थापाले भने, “तीन टाउके शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गलत काम गर्दा गणतन्त्र धरापमा परेको छ । अब जनताको आक्रोश थामिँदैन ।”
हुम्लाका राप्रपा नेता एवं आन्दोलनका ‘स्वंसेवक’ तेजबहादुर रावतले प्रदर्शन निरन्तर हुने बताए । “ढिलै आउला, तर आउँछ । अब जबसम्म राजतन्त्र पुनर्स्थापना हुँदैन, त्यही बेलासम्म आन्दोलन हुन्छ,” रावतले भने ।