
काठमाडौं । कप्तान लियोनल मेसी र लुइस स्वारेजप्रेरित इन्टर मियामीले मेजर लिग सकर (एमएलएस)मा मोन्टरियालविरुद्ध ४–२को जित निकालेको छ ।
बिहीबार मियामीको मैदान चेज रंगशालामा सम्पन्न खेलमा घरेलु टिमलाई जित दिलाउन मेसी र स्वारेजले समान दुई गोल गरे । पाहुना टिमका डान्टे सिली र भिक्टर लोटुरीले समान एक गोल फर्काएका थिए ।
खेलको २७औँ मिनेटमा मेसीले गोल गर्दै मियामीलाई अग्रतामा राखेका थिए । ६८औँ मिनेटमा स्वारेजले घरेलु टिमको अग्रता दोब्बर बनाए । त्यसको तीन मिनेटपछि स्वारेजले नै गोल गरेपछि मियामीले ३–० को अग्रता बनाएको थियो ।
७४औँ मिनेटमा सिलीले एक गोल फर्काउँदै स्कोरलाई ३–१ को स्थितिमा ल्याए । तर, खेलको निर्धारित समय सकिन तीन मिनेट बाँकी हुँदा मेसीले गोल गर्दै मियामीलाई ४–१ को अग्रतामा राखे ।
यस्तै, इन्जुरी समयमा मोन्टरियालका भिक्टर लोटुरीले एक गोल फर्काए पनि टिमको हार टार्न सकेनन् ।
जितसँगै १५ खेलबाट २६ अंक जोडेको मियामी एमएलएस इस्र्टन कन्फेरेन्सको छैटौँ स्थानमा छ । समान खेलबाट आठ अंक जोडेको मोन्टरियाल तालिकाको पुछारमा छ ।