site stats
बाह्रखरी :: Baahrakhari
विदेश
ईयूले भन्यो– गाजामा हामासविरुद्धको इजरायली आक्रमण बढी भयो

काठमाडौं । यूरोपियन युनियन (ईयू)ले गाजामा सर्वसाधारण नागरिकहरूको मृत्यु हुने गरी इजरायलले गरिरहेको हवाई हमलाहरूप्रति प्रतिक्रिया जनाएको छ ।

ईयूकी प्रमुख कूटनीतिज्ञ काजा कल्लासले गाजामा इजरायली हमलाहरू हामाससँग लड्न आवश्यक पर्ने आक्रमणभन्दा बढी भइरहेको बताएको बीबीसीले जनाएको छ ।

कल्लासले संयुक्त राष्ट्रसंघ र अन्य मानवीय संस्थाहरूलाई बेवास्ता गरी अमेरिका र इजरायलले समर्थन गरेको नयाँ सहयोग वितरण प्रणालीलाई पनि ईयूले समर्थन नगरेको बताएकी छन् ।

Argakhachi Cement Island Ad

“हामी मानवीय सहयोग वितरणको निजीकरणलाई समर्थन गर्दैनौँ । मानवीय सहयोगलाई हतियारको रूपमा प्रयोग गर्न सकिँदैन,” उनले भनिन् ।

कल्लासको यो भनाइ जर्मन चान्सलर फ्रेडरिक मर्जको हस्तक्षेप पछि आएको हो । चान्सलर मर्जले इजरायलको घेराबन्दीमा रहेको गाजामा इजरायलको सैन्य कारबाहीको उद्देश्य बुझ्न नसकेको बताएका थिए ।

“नागरिकलाई प्रभाव पार्ने कामहरू हामास आतंकवादसँगको लडाइँलाई जायज मान्न सकिँदैन,” उनले यसअघि भनेका थिए ।

गाजालाई मानवीय सहयोग प्रदान गर्ने युरोपियन युनियन सबैभन्दा ठूला दाताहरूमध्ये एक हो । तर, कल्लासले अहिले यसको अधिकांश सहयोग आवश्यकता परेका प्यालेस्टिनीहरूसम्म पुग्न नसकेको बताइन् । इजरायलले मार्चदेखि गाजामा नाकाबन्दी लगाएको थियो । अहिले ११ हप्तापछि मात्र थोरै मात्रामा सहयोग आउन दिन थाले पनि नागरिकसम्म पुग्न सकेको छैन ।

“गाजालाई दिइने अधिकांश सहयोग ईयूले प्रदान गर्छ तर यो जनतासम्म पुग्दैन किनभने इजरायलले यसलाई रोकेको छ,” कल्लासले भनिन्, “मानिसहरूको पीडा असहनीय छ ।”

यसैबीच, युरोपियन कमिसनका अध्यक्ष उर्सुला भोन डेर लेयनले गाजाको नागरिक क्षेत्रहरूमा भएको इजरायली हमलालाई घृणित र असन्तुलित भनेकी छन् ।

हामासनियन्त्रित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलले मार्चमा युद्ध पुनः सुरु गरेपछि गरेका हवाई हमला र अन्य सैन्य कारबाहीहरूका कारण तीन हजार ९२४ जनाको ज्यान गएको छ । इजरायलले भने यो आक्रमण हामासलाई नष्ट गर्न र आफ्ना बन्धकहरू फिर्ता लिनका लागि कार्य गरिरहेको बताएको छ ।

हालैको इजरायली बमबारीमा परी धेरै संख्यामा नागरिकको मृत्यु भएको छ । गत शुक्रबार खान युनिसमा भएको हवाई हमलामा एक प्यालेस्टिनी डाक्टरका १० जना बच्चामध्ये ९ को मृत्यु भएको थियो । सोमबार बिहानसम्म उत्तरी गाजामा विस्थापित परिवारहरू बसोबास गरेको विद्यालय भवनमा भएको आक्रमणमा ३५ जनाको मृत्यु भएको थियो । बीबीसी

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  ०६:३९
प्रतिक्रिया दिनुहोस्