
काठमाडौं । इरान सरकारले आफ्नो देशमा रहेका अफगान आप्रवासी र शरणार्थीलाई देश छाड्न चेतावनी दिएको छ । अन्यथा गिरफ्तारीको सामना गर्नुपर्ने इरानको चेतावनी छ ।
इरानलाई उनीहरूलाई देश छाड्न आइतबारसम्मको समय दिएको छ । तर, मानव अधिकारवादी संगठनहरूले सामूहिक निष्कासनले विश्वका गरिब राष्ट्रमध्येको एक अफगानिस्तानलाई थप अस्थिर बनाउन सक्ने चेतावनी दिएका छन् ।
इरानमा झन्डै ४० लाख अफगान आप्रवासी र शरणार्थी बस्छन् । उनीहरूमध्ये धेरै दशकौँदेखि बसोबास गर्दै आएका छन् ।
सन् २०२३ मा इरानले देशमा गैरकानुनीरूपमा बसोबास गर्ने विदेशीलाई निष्कासन गर्ने अभियान थालेको थियो । गत मार्चमा इरान सरकारले अफगानहरूलाई आइतबारसम्म स्वेच्छाले देश छाड्न भनेको थियो ।
त्यसयता, सात लाखभन्दा बढी अफगानले इरान छोडेका छन् भने लाखौँ निष्कासनको जोखिममा छन् ।
संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय आप्रवासन संगठनका अनुसार, जुन महिनामा मात्र दुई लाख ३० हजारभन्दा बढीले इरान छोडेका थिए ।
सरकारले युद्ध, गरिबी र तालिबान शासनबाट भागेका अफगानहरूलाई निसाना बनाएको अस्वीकार गरेको छ ।
संयुक्त राष्ट्रसंघको शरणार्थीसम्बन्धी उच्चायुक्तको कार्यालयले इरानले इजरायलसँगको युद्धको समयमा औसतमा दैनिक ३० हजारभन्दा बढी अफगानहरूलाई निष्कासन गरेको अनुमान गरेको छ ।
अल्जजिराबाट ।