
काठमाडौं । नेकपा (एमाले)का सांसद किरणकुमार साहले अफताब आलमलाई सफाइ दिने न्यायाधीशहरू खुसीप्रसाद थारू र अर्जुन महर्जनमाथि महाभियोग लगाउन माग गरेका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा सांसद साहले 'जिउँदै मानिसलाई इँटाभट्टामा जलाएर मार्ने' आलमलाई सफाइ दिने न्यायाधीशलाई कारबाही हुनुपर्ने माग राखेका हुन् ।
“जिउँदै मानिसलाई इँटाभट्टामा जलाएर मार्ने अफताब आलमलाई सफाइ दिने न्यायाधीशहरू खुसीप्रसाद थारू र अर्जुन महर्जनलाई यो गठबन्धनले महाभियोग लगाओस्,” साहले भने, “यदि लगाएन भने उनलाई सफाइ दिने काम यो गठबन्धनले नै गरेको ठहर्छ ।”
स्वतन्त्र चुनाव उठेर निर्वाचित भएका साह नेकपा (एमाले) प्रवेश गरिसकेका छन् ।
बम विस्फोटका घाइते भनिएका भारतीय नागरिक गौरीशंकर रामले आफूलाई सांसद साहले नेपाल ल्याएको बताएको भिडियो सार्वजनिक भएको छ । गौरीशंकरले भिडियोमा आफूलाई प्रहरीले तीनदिन थुनेर राखेपछि भनेअनुसारको जाहेरी दिएको उल्लेख गरेका छन् ।
उच्च अदालतका न्यायाधीशमाथि महाभियोग लाग्छ ?
उच्च अदालतसम्मका न्यायाधीशहरूमाथि प्रश्न उठे न्याय परिषद्ले नै कारबाही गर्न सक्छ । न्याय परिषद्ले न्यायाधीशद्वय थारू र महर्जनलाई सर्वोच्चमा काजमा रहने गरी तानिसकेको छ । परिषद्ले आलमबारेको फैसलामा आवश्यक अनुसन्धान र फैसलाका आधार अध्ययन गरिरहेको छ ।
तर, सांसद साहले महाभियोग नलगाएर गठबन्धनले नै सफाइ दिएको ठहर्ने दाबी गरेका छन् ।