site stats
बाह्रखरी :: Baahrakhari
विदेश
ट्रम्पले भने– नयाँ पार्टी खोल्ने मस्कको घोषणा हास्यास्पद

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना पूर्वनिकट सहयोगी एलन मस्कको योजनाको आलोचना गरेका छन् । नयाँ राजनीतिक पार्टी सुरु गर्ने मस्कको घोषणाको उनले आलोचना गरेका हुन् ।

“तेस्रो पार्टी सुरु गर्नु हास्यास्पद छ भन्ने मलाई लाग्छ,” ट्रम्पले आइतबार एयरफोर्स वानमा चढ्नुअघि पत्रकारसँग भने, “यो सधैँ दुई पार्टी प्रणाली भएको छ र मलाई लाग्छ, तेस्रो पार्टी सुरु गर्नाले केवल भ्रम बढाउँछ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मस्कले हालै एक्स पोस्टमार्फत रिपब्लिकन र डेमोर्क्र्याटिक दललाई चुनौती दिन नयाँ पार्टी स्थापनाको घोषणा गरेका थिए । उनले आफ्नो दलको नाम ‘अमेरिका पार्टी’ राखेका छन् ।

ट्रम्प र मस्क पहिले निकट सहयोगी थिए । टेस्लाका मालिक मस्कले अमेरिकी संघीय खर्च कटौतीमा सहयोग गर्ने जिम्मेवारी पाएको डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसिएन्सी (डोज)को नेतृत्व गरेका थिए ।

मस्कले बारम्बार अमेरिकी राष्ट्रिय ऋण बढाउने सरकारी नीतिको आलोचना गरेका छन् ।

आइतबार उनले नयाँ पार्टीले भविष्यमा कुनै बेला राष्ट्रपतिको उमेदवारलाई समर्थन गर्न सक्ने तर अबका १२ महिनाको ध्यान हाउस र सिनेटमा केन्द्रित हुने बताएका थिए । टेस्लाका प्रमुखको यो घोषणा राष्ट्रपति ट्रम्पसँग सार्वजनिक मतभेद भएको केही हप्तापछिको हो ।

मस्कले ट्रम्पसँगको सार्वजनिक विवादका क्रममा नयाँ राजनीतिक पार्टीको विचार अनलाइनमा प्रस्तुत गरेका थिए । त्यति बेला ट्रम्पले बारम्बार उनको योजनाको आलोचना गरिरहेका थिए ।

ट्रम्पले यसअघि आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा पोस्ट गर्दै मस्कले नयाँ राजनीतिक पार्टी सुरु गर्ने घोषणा गरेपछि उनलाई निसाना बनाएका थिए । ट्रम्पले लेखेका छन्, “म एलन मस्कलाई पूर्ण रूपमा ‘लिकबाट उत्रिएको’ देखेर दुःखी भएको छु । पछिल्लो पाँच हप्तामा वास्तवमै उनी एक रेल दुर्घटनाजस्तै बनेका छन् ।” बीबीसीबाट ।

प्रकाशित मिति: सोमबार, असार २३, २०८२  १२:४९
प्रतिक्रिया दिनुहोस्