
काठमाडौं । सत्तासाझेदार दल नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘कब्जा’सम्बन्धी अभिव्यक्ति आपत्तिजनक भएको टिप्पणी गरेका छन् ।
संविधानले नै स्वतन्त्रतापूर्वक अभिव्यक्ति दिने, बिनाहातहतियार शान्तिपूर्वक भेला हुने, राजनीतिक दल खोल्ने अधिकार दिएको भन्दै उनले त्यसविरुद्ध हुने गरी प्रधानमन्त्रीको अभिव्यक्ति आएको बताए ।
“नेपालको संविधानको धारा १७ ले नै राष्ट्रिय एकता, अखण्डता र सार्वभौमसत्तामा खल पुग्नेबाहेक आफ्नो विचार अभिव्यक्त गर्ने, राजनीतिक पार्टी खोल्न पाउने, विरोध प्रदर्शन गर्ने अधिकार मौलिक हकमार्फत नै सुनिश्चित गरेको छ,” नेता केसीले बाह्रखरीसँग भने, “तर, प्रधानमन्त्रीले आइतबार दिएको अभिव्यक्तिले संवैधानिक मौलिक अधिकारलाई नै चुनौती दिएको छ ।”
उनले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिले एक पार्टी प्रणालीको वकालत गरेको बताए । “उहाँको अभिव्यक्ति जुन ढंगले आएको छ, त्यसले राज्य सञ्चालकहरूले नै मुठभेडको स्थिति आमन्त्रित गरेको आशंका बढाएको छ,” उनले भने, “यस्ता अभिव्यक्ति सरकार प्रमुखबाटै आउनु दुःखद मात्र हैन, खेदपूर्ण छ ।”
कांग्रेसका प्रवक्ताले प्रधानमन्त्रीको भनाइप्रति असहमति रहेको बताए पनि त्यसबारे प्रस्ट रूपमा पार्टीको धारणा नराखेको उनले उल्लेख गरे । कांग्रेस महामन्त्री गगन थापासहित केही नेताले विरोधमा बोले पनि पार्टीले औपचारिक धारणा सार्वजनिक नगरेको उनको भनाइ थियो ।