
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसा प्रकरणमा संसद्बाटै गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्ने निर्णय गरेको छ । सोमबार (जेठ १२) सिंहदरबारमा बसेको रास्वपा संसदीय दलको बैठकबाट गृहमन्त्रीको राजीनामा माग गर्ने निर्णय गरिएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
भिजिट भिसा प्रकरणमा प्रश्न उठाइएपछि अनुसन्धानका निम्ति मार्गप्रशस्त गर्नुपर्नेमा रास्वपाले जोड दिएको छ । मंगलबार (जेठ १३) बस्ने संसद् बैठकमा सशक्त प्रतिपक्षका रूपमा गृहमन्त्रीको राजीनामा माग गर्ने दलको निर्णय छ ।
सदनमा सांसदले प्रश्न सोध्न नपाई गृहमन्त्रीले जवाफ दिने अवस्था बनाइए स्वीकार्य नहुने उनले स्पष्ट पारे । पहिला तथ्यका साथ आफूहरूले गृहमन्त्रीलाई प्रश्न गर्ने र त्यसपछि मात्र जवाफ सुन्ने झाले बताए ।
नेपाली कांग्रेसका नेता समेत रहेका गृहमन्त्रीलाई भिजिट भिसा प्रकरणमा ‘क्लिन चिट’ दिने अधिकार उक्त पार्टीका पदाधिकारीलाई नरहेको उनले तर्क गरे । उनले भिजिट भिसा प्रकरणमा अनुसन्धानका निम्ति कांग्रेसले सहजीकरण गर्नुपर्नेमा जोड दिए ।
आफ्ना नेतामाथि यसअघि प्रश्न उठाइँदा कांग्रेसले २२ पटक संसद् बैठक अवरोध गरेको विषय पनि सदनमार्फत स्मरण गराइने उनले बताए । अरू दलभन्दा सुदृढ संसदीय अभ्यास गरेर देखाउने उनको भनाइ थियो । हिमालयन टेली भ्वाइस