
काठमाडौं । सरकारले आवश्यक परे राजावादीको आन्दोलनमाथि प्रतिबन्ध लगाउन सकिने बताएको छ । सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले संविधान, जनताविरोधी गतिविधि गरिराख्नेलाई सधैँ छुट दिन नसकिने बताएका हुन् ।
बिहीबार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउने क्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेका गुरुङले राजतन्त्र पुनर्स्थापना गर्ने विषय संविधनविरोधी काम भएको बताए ।
अहिलेसम्म सरकारले उदारतापूर्वक संविधानको विरोध, थापित लोकतन्त्रको मूल्य मान्यताको विरोध गर्ने र वर्तमान शासन प्रणाली उल्ट्याउन चाहनेलाई पनि सभा, आन्दोलनका कार्यक्रम गर्न दिइरहेको बताए । उनले आन्दोलन गर्न दिने कुरा सरकारको कायरता नभई उदारता भएको र कमजोरी नठान्न चेतावनी दिए ।
"हामीले फेरि पनि एकदम उदारतापूर्वक संविधानको विरोध गर्नेहरूलाई पनि स्थापित लोकतन्त्रको मूल्यमान्यताको विरोध गर्नेहरूलाई पनि र यो शासन प्रणाली उल्ट्याउन चाहनेलाई पनि सभा, संगठन गर्ने, बोल्ने अधिकार छुट दिएका छौ । त्यो हाम्रो कायरता होइन, हाम्रो कमजोरी होइन, हामी डराएर गरेको होइन । त्यसरी दिँदा उनीहरूले हामीलाई कमजोर नठाने हुन्छ," उनले भने ।
उनले अगाडि थपे, "सरकार सधैँ टुलुटुलु हेरेर बस्दैन । त्यसको यथोचित प्रतिवाद हुन्छ सरकारको तर्फबाट । तर, अहिले हामी सबै गतिविधिलाई छोडिरहेका छौँ । त्यो गतिविधिले कस्तो रूप लिन्छ, त्यसको आधारमा प्रतिक्रिया हुन्छ," उनले भने ।