site stats
बाह्रखरी :: Baahrakhari
विदेश
बलुचिस्तानको स्कुल बस विस्फोटमा हाम्रो हात छैन : भारत

काठमाडौं । भारतले पाकिस्तानको बलुचिस्तान राज्यको खुजदारमा भएको स्कुल बस विस्फोटमा आफ्ना संलग्नता अस्वीकार गरेको छ । बुधबारको स्कुल बस विस्फोटमा भारतको हात रहेको पाकिस्तानले आरोप लगाएको थियो । भारतको विदेश मन्त्रालयले उक्त आरोपको खण्डन गरेको हो । 

साथै भारतले पाकिस्तान अहिले पनि विश्वमा आतंकवादको केन्द्र भएको जिकिर गरेको छ । भारतले आफूमाथि आरोप लगाएर अन्तर्राष्ट्रिय समुदायलाई झुक्याउने उसको प्रयास असफल हुने बताएको टाइम्स अफ इन्डियाले जनाएको छ ।

भारतको विदेश मन्त्रालयले खुजदारमा भएको आक्रमणमा ज्यान गएकाहरूप्रति शोक व्यक्त गरेको छ । 

“खुजदारमा भएको घटनामा भारतको संलग्नता रहेको भन्दै पाकिस्तानले लगाएको तथ्यहीन आरोपलाई भारतले अस्वीकार गर्दछ...,” विदेश मन्त्रालयले भनेको छ, “आतंकवादको विश्वव्यापी केन्द्रको रूपमा रहेको आफ्नो नराम्रो छवि छोप्न र आफ्नै गम्भीर कमजोरी लुकाउन पाकिस्तानले आफ्ना सबै आन्तरिक समस्याको दोष भारतमाथि लगाउनु अब उसको अर्को प्रकृति बनेको छ ।”

पाकिस्तानको बलुचिस्तान प्रान्तमा बुधबार भएको स्कुल बसलक्षित विस्फोटमा तीन बालबालिकासहित पाँचजनाको मृत्यु भएको थियो भने अन्य ३८ जना घाइते भएका थिए ।

सेनाद्वारा सञ्चालित स्कुलमा बसले बालबालिकालाई लैजाँदै गर्दा घटना भएको थियो ।

यसैबीच, पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले भारतीय संरक्षणमा काम गर्ने आतंकवादीले निर्दोष बच्चाहरूमाथि आक्रमण गरेको भन्दै उनीहरूको शत्रुताको स्पष्ट प्रमाण भएको बताएका छन् ।
 

प्रकाशित मिति: बिहीबार, जेठ ८, २०८२  १४:५१
प्रतिक्रिया दिनुहोस्