site stats
बाह्रखरी :: Baahrakhari
देश
रवि र छविसहित सरकारी वकिलको बहस सकियो, जाहेरवालाको सकेपछि शुक्रबार आदेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीका निवेदनमा सुनुवाइ नसकिएपछि बिहीबार पनि ‘हेर्दाहेर्दै’मा राखिएको छ । सर्वोच्च अदालतका न्यायाधीश डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा गत मंगलबारदेखि सुरु भएको सुनुवाइ त्यसयता ‘हेर्दाहेर्दै’मा पर्दै आएको छ । 

मंगलबार रविका तर्फबाट १० वकिलले बहस गरेका थिए । अन्तिममा रविका तर्फबाट वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले बहस गरे पनि रोकिएपछि बिहीबार पुनः भएको हो । बुधबार भने संवैधानिक इजलासका कारण पेसी राखिएको थिएन । 

बिहीबार रविका वकिलको बहस सकिएपछि सरकारी वकिलका तर्फबाट चारजनाले बहस गरेका छन् । अब जाहेरवालाका तर्फबाट वरिष्ठ अधिवक्ताहरू डा. सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठीसहित तीनजनाले बहस गर्ने जानकारी इजलासमा गराइएको छ । शुक्रबार (भोलि) जाहेरवालाको बहस सकिएपछि रविका वकिलले जवाफी बहस गर्ने उनका कानुन व्यवसायी डा. नारायण कँडेलले जानकारी दिए । उनले चिया समयअघि नै बहस सकिने हुँदा आदेश पनि चाँडै आउने अपेक्षा गरिएको बताए । 

प्रकाशित मिति: बिहीबार, जेठ ८, २०८२  १७:५९
प्रतिक्रिया दिनुहोस्