site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
एनसेलले पायो डलर सटही सुविधा, सेवा विस्तारमा लगानी गर्न बाटो खुल्यो

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाप्रदायक एनसेललाई विदेशी मुद्रा सटही सुविधा प्रदान गरेको छ । प्राधिकरणले एक वर्षपछि एनसेललाई विदेशी मुद्रा सटही सुविधा दिएको हो । डलर सटही सुविधा नपाउँदा एनसेलको सेवा विस्तार र नयाँ प्रविधिमा जान रोकिएको थियो ।

विदेशी मुद्रा सटही सुविधा नपाउँदा एनसेलले टावर विस्तारको काम रोकेको थियो । अब देशका विभिन्न स्थानमा एनसेलले मोबाइल टावर जडान गर्न बाटो खुलेको छ ।

प्राधिकरणले डलर सटही सिफारिस नगर्दा टाटा कम्युनिकेसन्स इन्टरनेसनलले मोबाइल सेवा प्रदायक एनसेललाई ब्यान्डविथ सेवा दिन बन्द गरेको थियो । लामो समयदेखि भुक्तानी नपाएको भन्दै टाटा कम्युनिकेसन्स्ले एनसेललाई ब्यान्डविथ दिन बन्द गरेको थियो ।

नियामक दूरसञ्चार प्राधिकरणले विदेशी मुद्रा सटहीको सिफारिस नगर्दा टाटालाई ब्यान्डविथ खरिदको भुक्तानी गर्न पाएको थिएन । एनसेलले एक अर्ब रुपैयाँभन्दा बढीको विदेशी मुद्रा सटहीका लागि सिफारिस मागेको थियो । बक्यौता नतिरेसम्म सुविधा नदिने अडान प्राधिकरणले लिएको थियो । एनसेलले किस्तावन्दीमा २० अर्ब रुपैयाँ लाइसेन्स नवीकरण शुल्क भुक्तानी गर्न अनुमति पाइसकेको छ ।

ब्यान्डविथ काटिँदा ग्राहकको अत्यधिक चाप एनसेलको नेटवर्कमा पर्दै आएको थियो । एनसेलले २०६४ देखि नै थ्रिजी मोबाइल नेटवर्कका लागि १० मेगाहर्जको फ्रिक्वेन्सी चलाउँदै आएको छ । त्यसपछि २०६९ मा दूरसञ्चार सेवाको रेडियो फ्रिक्वेन्सी बाँडफाँट र मूल्यसम्बन्धी नीति जारी भयो ।

प्रकाशित मिति: बुधबार, जेठ ७, २०८२  १९:४१
प्रतिक्रिया दिनुहोस्