
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो १० महिनामा प्रेस काउन्सिल नेपालमा ३४६ मिडियाविरुद्ध २४६ वटा उजुरी परेका छन् ।
२०८१ साउन १ गतेदेखि २०८२ वैशाख मसान्तसम्मको अवधिमा मिडियाविरुद्ध चारवटा जनगुनासो पनि परेको प्रेस काउन्सिलले जनाएको छ । “दर्ता भएका उजुरीमध्ये ११६ वटा गालीबेइज्जती/चरित्रहत्या/मानहानी, ११४ वटा गलत/भ्रामक/असन्तुलित/दुष्प्रचार, पाँचवटा बार्गेनिङ, ११ वटा हुबहु रहेका छन्,” प्रेस काउन्सिलले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै, उक्त अवधिमा दर्ता भएका २४६ मध्ये कुल १४९ वटा (६०.५७ प्रतिशत) उजुरी फछ्यौट भएको विज्ञप्तिमा जनाइएको छ । “आचारसंहिता बमोजिम दिइएको निर्देशन अवज्ञा गर्ने ११ वटा अनलाइन सञ्चारमाध्यमलाई अवज्ञाकारी/कालोसूचीमा राखी कारबाही अगाडि बढाइएको छ भने तीनवटालाई सूचीकरणबाट समेत हटाइ थप कारबाही गरिएको छ,” प्रेस काउन्सिलले भनेको छ ।
अवज्ञाकारी/कालोसूचीमा राखी कारबाही गरिएका मध्ये क्षमायाचना गर्दै आगामी दिनमा आचारसंहिता एवं काउन्सिलको निर्देशन पालनामा प्रतिबद्धता व्यक्त गरी निवेदन दिने पाँचवटालाई कालोसूची फुकुवा गरिएको जनाइएको छ । निर्देशन/सचेत गराउँदै ससर्त कालोसूची फुकुवा गरिएको जानकारी गराइएपछि काउन्सिलका बारेमा आधारहीन, भ्रमपूर्ण, मिथ्या सामग्री सम्प्रेषण गर्ने एक सञ्चारमाध्यमलाई पुनः स्पष्टीकरण सोधिएको छ ।
बितेको १० महिनामा हिंसा, आतंकलाई प्रश्रय पुग्ने, द्वैष फैलाउने, अपुष्ट, भ्रमपूर्ण, अफवाहपूर्ण सामग्री सम्प्रेषण गर्ने मिडियाअन्तर्गत आबद्ध भएका सामाजिक सञ्जाल (युट्युब च्यानल ) ६, फेसबुक पेज पाँच तथा ६ वटा अनलाइनलाई सचेत गराइएको छ ।
“निराधार, अफवाहपूर्ण, अतिरञ्जित थम्बनेलसहितको शीर्षक दिइ जनमानसमा भ्रम फैलाउने, त्रसित पार्ने, अमर्यादित, अश्लील सामग्री सम्प्रेषण गर्ने, काउन्सिलको निर्देशनलाई अनदेखा गरी गलत विवरण राखी भ्रम उत्पन्न गर्ने, मिडियाको रूपमा दर्ता/सूचीकरण नभएका ६५ युट्युब च्यानल र पाँच फेसबुक पेजलाई नेपाल प्रहरी, साइबर ब्युरोमा पत्राचार भएको छ,” विज्ञप्तिमा भनिएको छ ।