
विराटनगर । कोसी प्रदेशसभामा जारी प्रदेश सरकारको बजेटमाथिको विनियोजनमा सत्तारूढ दलकै सांसदहरूले असन्तुष्टि जनाएका छन् ।
बजेटमाथिको छलफलमा सत्तारुढ नेकपा (एमाले)का प्रदेशसभा सदस्यले बजेटजति मन्त्रीहरूले आफ्नो क्षेत्रतिर लगेर आफ्ना महत्वपूर्ण योजनासमेत काटिएको भन्दै विरोध गरेका छन् । एमाले प्रदेशसभा सदस्य लीलावल्लव अधिकारीले आफ्नो ‘हात जगन्नाथ’ भन्ने शैलीमा बजेट एकातिरमात्र खन्याइएको आरोप लगाए ।
“अहिले मन्त्री भएका माननीयज्यूहरूले आफ्ना क्षेत्रमा बजेट खन्याउनु भएको छ । तपाइँ मन्त्री पदमा नरहँदा तपाइँलाई पनि त्यस्तै हुनेछ । राम्रो थिति बसेन । यो राम्रो भएन,” उनले भने, “आउने दिनमा मन्त्री छाडेपछि भविष्यमा तपाइँहरूले यस्तै नियत भोग्नु पर्नेछ ।” नीति एकातिर बजेट अर्कोतिर गएको अधिकारीले बताए । बजेटमा नयाँपन नदेखिएको उनको टिप्पणी छ ।
एमाले प्रदेशसभा सदस्य तारादेवी ढकालले मन्त्रीहरूले आफ्ना क्षेत्रमा मात्र बजेट पारेको भन्दै यसको सन्देश राम्रो नगएको बताइन् । उनले बजेट कार्यान्वयनमाथि पनि प्रश्न उठाइन् ।
“सदन विपक्षीकै हो । तर, हामीले पनि बजेटका विषयमा भएको एकपक्षीय विनियोजनको गुनासो गर्नुपरेको छ,” उनले भनिन्, “बजेट समानुपातिक ढंगले विनियोजन भएको छैन ।”
आगामी आर्थिक वर्षको बजेटमा विशेषगरी भौतिक पूर्वाधारमन्त्री भुपेन्द्र राई र पर्यटनमन्त्री सदानन्द मण्डलले आफ्नो क्षेत्रमा बढी बजेट लगेको भन्दै सदनमा चर्काे आलोचना भइरहेको छ ।
यही विषयमा आइतबार कांग्रेस संसदीय दलको बैठकमा कांग्रेस सदस्यहरूले समेत आलोचना गरेका थिए । भौतिक पूर्वाधारतर्फ सरकारले १० अर्बभन्दा धेरै बजेट विनियोजन गरेको छ ।
यसमध्ये करिब एक अर्ब मन्त्री राईले खोटाङ र आफ्नो क्षेत्रमा लगेको भन्दै प्रदेशसभा सदस्यहरूले विरोध गरिरहेका छन् ।
माओवादी केन्द्रका प्रदेशसभा सदस्य गणेश उप्रेतीले भौतिक पूर्वाधार र पर्यटनमन्त्रीले डेढ अर्बभन्दा बढी बजेटका कार्यक्रम आफ्ना क्षेत्रतिर खन्याएको भन्दै असन्तुष्टि जनाए ।
माओवादीका प्रदेशसभा सदस्य गणेश उप्रेतीले बजेट कटाउने कोसी प्रदेशका मन्त्रीप्रति असन्तुष्टि जनाए ।
आइतबार प्रदेशसभा बैठकमा बजेटमाथिको छलफलमा बोल्दै उनले असन्तुलनको पहाडको रूपमा बजेट आएको आरोप लगाए ।
मालपोत उठाउने मन्त्रालयले पुल बनाउने बजेट हालेको छ । प्रहरी हेर्ने मन्त्रालयले बाटो बनाउने पैसा खन्याएको उनले बताए ।
“यो अराजकता हो । अघिल्लो वर्ष ज्वरो फुट्नेगरी माननीयहरूले गाली गर्नुभयो । तर, यो पटक पर्यटनबाट २५ करोड र खानेपानीबाट समेत गरी मन्त्रीज्यूहरुले डेढ अर्ब आफ्नातिर लग्नुभयो, यो के हो ?,” उनले भने, “खोटाङमा एउटा मात्र निर्वाचन क्षेत्र छ । मोरङमा प्रदेशका १२ निर्वाचन क्षेत्र छन् । के यो बजेट सन्तुलित छ ? यहाँ दुईवटा क्षेत्र भएको निर्वाचन क्षेत्रमा अढाई करोड हालिएको छ । उता डेढ अर्ब । यही हो सन्तुलन ?”
उनले पर्यटनमन्त्री सदानन्द मण्डलको क्षेत्रमा समग्र मन्त्रालयको २५ प्रतिशत बजेट लगिएको सदनसमक्ष जानकारी गराए ।
“केमा बजेट छुटयाइयो अध्ययन गरौँ । मालपोत उठाउने मन्त्रालयले पुल बनाउने बजेट हालेको छ । यसले प्रदेशप्रति मानिसको वितृष्णा बढेको छ,” उनले भने, “यसको पनि कारण यही हो । प्रदेश संरचनामा वितृष्णा बढाउनेलाई बल पुग्यो । एकातिर कनिका छरिएको छ । केही सिकारीले हात्तीकै सिकार गरे । कनिका टिप्न पाएकोमा फुर्के चरा रमाइरहेका छौँ ।”
मुख्यमन्त्रीलाई सदनमा नयाँ बजेटमा सानो संख्यामा भएको प्रतिपक्षीका पुराना योजनालाई न्याय गर्नुस् भने पनि काटिएको गुनासो गरे ।