site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सेयर कारोबार रकम एकै दिन साढे तीन अर्बले बढ्यो

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ७.९४ अंकले घटेको छ । नेप्से परिसूचक घटेर २६६९.५१ विन्दुमा रोकिएको छ । तर, कारोबार रकम एकै दिन तीन अर्ब ३८ करोड रुपैयाँले बढेको छ ।

आज १० अर्ब ६९ करोड ८६ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । मंगलबार सात अर्ब ३१ करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो ।

आज बजार खुल्नेबित्तिकै परिसूचक ११ बजेर ३ मिनेट जाँदा २७७१ विन्दुसम्म पुगेको थियो । पाँच मिनेटमै एक अर्बभन्दा बढीको सेयर खरिद–बिक्री भयो । नयाँ गभर्नर नियुक्त भएसँगै बजारमा कारोबारी उत्साहित देखिएका थिए ।

तर, कतिपयले भने आफ्नो नाफा बुक गर्ने रणनीति पनि अपनाएजस्तो देखिन्छ ।

आज ९३ कम्पनीको सेयर मूल्य बढेको छ । १५३ कम्पनीको सेयर मूल्य घटेको छ । महिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य स्थिर छ ।

ओम मेगाश्री फर्मास्यूटिकल्सको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ । श्वेत–गंगा हाइड्रोपावरको सेयर मूल्य ८.३२ प्रतिशतले घटेको छ ।

आज कारोबारमा आएका १३ समूहमध्ये वाणिज्य बैंक, म्युचुअल फन्ड र विकास बैंक समूहको परिसूचक बढेको छ ।  

प्रकाशित मिति: बुधबार, जेठ ७, २०८२  १५:३९
प्रतिक्रिया दिनुहोस्