
काठमाडौं । नेकपा (एमाले)का नेता तथा पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसम्बन्धी प्रतिवेदनमाथि गम्भीर प्रश्न उठाएका छन् । सार्वजनिक लेखा समितिमा भएको छलफलमा उनले अनुसन्धानको विधि नै अपूर्ण रहेको भन्दै प्रतिवेदनलाई एकपक्षीय र भ्रमपूर्ण भएको बताएका हुन् ।
“छलफल र अनुसन्धानको विधि नै भएन भन्ने सांसद तारा लामा र गोकुल बास्कोटाले फरक मत राख्नुभएको छ । मैले पनि त्यही देखेको छु,” सांसद भट्टराईले संसद्मा भने ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन आईसीएओले पोखरा विमानस्थललाई ‘फोर–डी’ श्रेणीमा उडानका लागि योग्य भन्दै सर्टिफिकेसन दिइसकेको अवस्थामा प्रतिवेदनले ‘उडान योग्य छैन’ भन्नु अनौठो भएको उनको भनाइ छ ।
“आईसीएओले सर्टिफाइड गरिसकेको विमानस्थललाई प्रतिवेदनले योग्य छैन भन्नु तथ्य विपरीत हो,” उनले भने, “विमानस्थलमा आवतजावत भइसकेको छ भने त्यो व्यावसायिक उडान हो भन्ने बुझ्न गाह्रो छैन ।”
भट्टराईले परियोजना विदेशी लगानीमा बनेको भन्दै त्यसमा संवेदनशीलता आवश्यक रहेको बताए । उनले एमसीसी सम्झौता पारित गर्ने सन्दर्भलाई उदाहरण दिँदै भने, “हामीले केही नेताहरूको लाज छोप्न एमसीसी पास गर्न सहयोग गरेका थियौँ । अहिले पनि यस्तो विषयमा चाइनाजस्ता लगानीकर्ताले चासो नराख्लान् भन्ने हुँदैन ।”
उनले पोखरा विमानस्थलसम्बन्धी प्रतिवेदनलाई चीनले सहजै स्विकार्ने अवस्था नरहेको प्रस्ट पारे । “यो प्रतिवेदन ठिक छ भनेर चीनले चुप लाग्छ भन्ने होइन। चासो त अवश्य राख्नेछ,” भट्टराईले चेतावनी दिए ।
राष्ट्रिय महत्त्वका विषयमा कुनै पनि नेताले गम्भीर र सन्तुलित दृष्टिकोण लिनुपर्नेमा उनले जोड दिए । “राष्ट्रको हितमा दीर्घकालीन असर पार्ने निर्णय गर्दा राष्ट्रिय दृष्टिकोण राख्न नेतृत्वले ध्यान दिनैपर्छ,” सांसद भट्टराईले भने ।