site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
बजेटमा ‘नवउद्यमशीलता प्रवर्द्धन’का कार्यक्रम राख्न अर्थमन्त्रीलाई कांग्रेसको ध्यानाकर्षण

काठमाडौं । नेपाली कांग्रेसले आगामी आर्थिक वर्षको बजेटमा नवउद्यमशीलता प्रवर्द्धनका निम्ति बजेट विनियोजन गर्न अर्थमन्त्रीको ध्यानाकर्षण गराएको छ । 

उद्यमशील कांग्रेस र नेपाली कांग्रेसको पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागले संयुक्त रूपमा बजेट तथा नीति संवाद कार्यक्रम गरेको थियो । उक्त कार्यक्रमको सुझाव अर्थमन्त्री विष्णु पौडेललाई हस्तान्तरण गर्दै कांग्रेसले ‘नवउद्यमशीलता प्रवर्द्धन’का लागि आग्रह गरेको हो ।
 
“उद्यमशीलता प्रवर्द्धनका निम्ति स्टार्टअप नीति पूर्ण कार्यान्वयन गर्न, नवउद्यमीलाई सस्तो ब्याजमा कर्जा उपलब्ध गराउन, कर छुटलगायत सुविधा तोक्न आग्रहसहितको सुझाव दिएका छौँ,” विभागका प्रमुख अजयबाबु शिवाकोटीले भने, “कर सुधारमा पनि ध्यान दिन, दोहोरो कर हटाई एकद्वार प्रणाली कार्यान्वयनमा ल्याउन, कर कार्यालयमा जवाफदेहिता बढाउन र डिजिटल कर प्रणालीको विकास गर्न सुझाव दिएका छौँ ।”

उनले अर्थमन्त्रीलाई बुझाइएको प्रतिवेदनमा शिक्षामा सुधार, कृषि क्षेत्रमा विशेष प्राथमिकता, उद्यमशीलता प्रवर्द्धनसहितका रणनीतिक सुझाव समेटिएको जानकारी दिए ।   

सुझावग ग्रहणपछि अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षको बजेटमा उद्यमशीलता, नवप्रवर्तन, लघुउद्यमको सशक्तीकरणसहितका विषय समेटिने आश्वासन दिएको उनको भनाइ छ । 

उद्यमशील कांग्रेसका अध्यक्ष अश्विन सिटौलाले उद्यमशीलताको मुद्दामा सरोकारवालासँगै अझ व्यापक छलफलमार्फत साझा धारणा बनाउन अर्थमन्त्रीलाई आग्रह गरेका थिए ।
 

प्रकाशित मिति: बुधबार, जेठ ७, २०८२  १३:०६
प्रतिक्रिया दिनुहोस्