
काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजनीतिक दलहरूले चाहे शान्तिपूर्ण ढंगबाट राजसंस्था संस्थागत गर्न सकिने बताएका छन् । मंगलबार (जेठ ६) काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
“यदि, राजनीतिक दलहरूले चाहने हो भने शान्तिपूर्ण ढंगबाट सहमति र समझदारीको आधारमा यही संविधानबाट नै (राजसंस्था) संस्थागत गर्न सकिन्छ,” उनले भने ।
उनले आफूहरूले राजसंस्था पुनर्स्थापनाका निम्ति गर्न लागेको आन्दोलन संविधानविपरीत नभएको जिकिर गरे । संविधानको धारा २७४ ले सार्वभौमिकता, स्वाधीनता, जनतामा निहित सार्वभौमसत्ताबाहेक सबै विषय परिवर्तन गर्न सक्ने अधिकार निश्चित गरेको उनले बताए ।
जनताले चाहे संघीय धर्मनिरपेक्ष गणतन्त्र पनि परिवर्तन गर्न सकिने उनले उल्लेख गरे । “सबै राजनीतिक दलहरूको सहमतिमा जनताले चाहे संघीय धर्मनिरपेक्ष गणतन्त्र पनि परिवर्तन गर्न सकिन्छ,” उनले भने, “राजसंस्था र हिन्दुराष्ट्र पनि स्थापना गर्न सकिन्छ भन्ने अधिकार संविधानले नै सुनिश्चित गरेको छ ।”
अध्यक्ष थापाले संविधानले अभिव्यक्ति स्वतन्त्रता र बिनाहातहतियार भेला हुने अधिकार जनतालाई दिएको बताए । न्युज एजेन्सी नेपाल