
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, विदेशमन्त्री मार्को रुबियो, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र इजरायली रणनीतिक मामिलामन्त्री रोन डर्मरबीच इरानको आणविक संरचनाहरूमाथि अमेरिकी आक्रमणलगत्तै चारपक्षीय टेलिफोन कुराकानी भएको थियो ।
कुराकानीको विषयवस्तुबारे जानकार एक स्रोतलाई उद्धृत गर्दै इजरायल हायोम अखबारले जनाएअनुसार, सबै सहभागीहरूले बी–२ बमवर्षक मिसनको नतिजाप्रति अत्यन्त उत्साह व्यक्त गरेका थिए । तर, चार नेताको ठूलो सन्तुष्टि केवल इरानको आणविक संरचनाहरूमाथि अमेरिकी आक्रमणको उपलब्धिहरूबाट मात्र नभएर उनीहरूको भविष्यको रणनीतिक योजनाबाट पनि प्राप्त भएको थियो ।
ट्रम्प र नेतन्याहूले अब्राहम सम्झौता विस्तारको हिस्साका रूपमा अरब राष्ट्रहरूसँग नयाँ शान्ति सम्झौताहरूलाई तुरुन्तै अगाडि बढाउने लक्ष्य राखेका छन् ।
ट्रम्प, रुबियो, नेतन्याहू र डर्मरले यी आधारभूत सिद्धान्तहरूमा सामान्य सहमति कायम गरेका थिए । उनीहरूले गाजा युद्ध समाप्त गर्न द्रुत योजना बनाएका छन् ।
इजरायल हायोम अखबार सहमतिमा आधारित योजनाका निम्न बुँदाहरू छन् ।
१. गाजा युद्ध दुई हप्ताभित्र समाप्त हुनेछ । समाप्तिको सर्तहरूमा चार अरब राष्ट्र (इजिप्ट र संयुक्त अरब इमिरेट्ससहित)ले गाजापट्टीको प्रशासन सञ्चालन गर्ने, हमासलाई विस्थापित गर्ने विषय समावेश हुनेछ । बाँकी हमास नेतृत्वले अन्य देशहरूमा निर्वासनको सामना गर्नुपर्नेछ, र बन्धकहरूलाई रिहा गरिनेछ ।
२. विश्वभरका धेरै राष्ट्रहरूले गाजाका धेरै बासिन्दाहरूलाई आप्रवासनका लागि आफ्नो देशमा स्वीकार गर्नेछन् ।
३. अब्राहम सम्झौताको विस्तारले सिरिया, साउदी अरब र अन्य अरब तथा मुस्लिम देशहरूलाई इजरायललाई मान्यता दिन र आधिकारिक सम्बन्ध स्थापना गर्न प्रोत्साहित गर्नेछ ।
४. इजरायलले प्यालेस्टिनी प्राधिकरणको सुधारमा आधारित दुई–राज्य अवधारणाअन्तर्गत भविष्यको प्यालेस्टिनी द्वन्द्व समाधानका लागि आफ्नो प्रतिबद्धता व्यक्त गर्नेछ ।
५. अमेरिकाले जुदिया र सामरियामा इजरायली सार्वभौमसत्ता कार्यान्वयनलाई मान्यता दिनेछ ।
साथै, दुई कूटनीतिक स्रोतहरूले इजरायल हायोम अखबारलाई प्रधानमन्त्री नेतन्याहूमाथि गाजापट्टीका सैन्य कारबाहीहरू समाप्त गर्न अमेरिकी राष्ट्रपतिबाट ठूलो दबाब आएको बताए । यस्तो दबाब अपरेसन राइजिङ लायन सुरू हुनुअघि नै सुरू भएको थियो र त्यसको समापन लगत्तै पुनः सुरु भएको बताइएको छ । यद्यपि, अर्को स्रोतले यस्तो दबाबबारे कुनै जानकारी नभएको बताएको छ ।
इजरायल हायोमले यो महत्त्वाकांक्षी योजनाको सम्भावित असफलताको डरले राष्ट्रपति ट्रम्पले इरान युद्धविराम घोषणापछि इजरायली आक्रमणहरूबारे ठूलो आक्रोश व्यक्त गरेको उल्लेख गरेको छ । प्रधानमन्त्री नेतन्याहूलाई इरानविरुद्ध आक्रमणका लागि तयार विमानहरू रोक्न आग्रह गर्दै ट्रम्पले सानो इरानी मिसाइलको कारणले सहमती र्भसकेको रणनीतिक शान्ति ढाँचालाई भंग नगर्न भनेका थिए ।