
काठमाडौं । केही दिनयता देशका विभिन्न भूभागमा वर्षा भइरहेको छ । हरेक दिन सबै स्थानमा पानी नपरे पनि देशभर सुक्खा भएको छैन । अझै कम्तीमा तीन यस्तै स्थिति रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आउँदो सोमबार (जेठ ५)सम्म सातै प्रदेशमा वर्षाको सम्भावना छ । तर, सातै प्रदेशका सबै भूभागमा पानी पर्ने सम्भावना होइन । शनिबार (जेठ ३) पनि केही स्थानमा वर्षा भएको छ ।
“कर्णाली र सुदूरपश्चिम प्रदेशभन्दा पूर्वतिर वर्षाको सम्भावना धेरै छ,” महाशाखाका मौसमविद् डेविड ढकालले बाह्रखरीसित भने, “सातै प्रदेशका थोरै क्षेत्रमा वर्षाको सम्भावना हो ।”
यो अवधिमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको पूर्वानुमान छ । केही दिनयता हल्कादेखि मध्यम वर्षा नै भइरहेको छ । हावाहुरी पनि चलेको छ । प्रिमनसुनको मौसम यस्तै हुने मौसमविद्को भनाइ छ ।
देशको राजधानी एवं वाग्मती प्रदेशको काठमाडौंमा समेत पछिल्ला दिन मेघगर्जन/चट्याङ र हावाहुरीसहित वर्षा भएको छ । शनिबार काठमाडौंका पनि सुन्दरीजल, साँखु, धाप ड्यामसहित केही स्थानमा वर्षा भयो ।
देशका कतिपय स्थानमा शनिबारभन्दा आइतबार (जेठ ४) वर्षाको सम्भावना बढी रहेको उनले जानकारी दिए । काठमाडौंसहित सातै प्रदेशका केही स्थानमा तुलनात्मक रूपमा आइतबार वर्षाको सम्भावना बढी रहेको उनले प्रस्ट पारे ।
“काठमाडौंमा वर्षा हुन्छ भनेर बुझ्दा सबै ठाउँमा पानी नपर्न सक्छ । वर्षा सबै ठाउँमा एकनासको हुने भन्ने हुँदैन,” मौसमविद् ढकालले भने, “कुनै ठाउँमा नपर्ने र कहीँ बढी वा कम वर्षा हुनसक्छ ।”
हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव छ । बंगालको खाडी र अरबसागरबाट भित्रिएको जलवाष्पयुक्त हावा (पानीको कणसहितको हावा) समेतको प्रभावले वर्षा भइरहेको उनले बताए ।
“स्थानीय र पश्चिमी वायुलाई बंगालको खाडी र अरबसागरबाट भित्रिएको जलवाष्पयुक्त हावाले सपोर्ट गरेको छ,” उनले भने ।
देशमा वर्षाको सम्भावना आइतबार र सोमबार ‘उस्तैउस्तै’ रहेको उनले जानकारी दिए । वर्षासँगै तापक्रममा थोरै गिरावट छ ।
महाशाखाले शनिबार बेलुका जारी गरेको तीन दिनको मौसम पूर्वानुमान बुलेटिन पढ्नोस्–