
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशमा रेमिट्यान्सका नाममा अवैध पैसा भित्रिरहेको आशंका व्यक्त गरेका छन् ।
शनिबार (जेठ ३) काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले गएको महिना मात्र करिब दुई खर्ब रेमिट्यान्स (औपचारिक र अनौपचारिक) भित्रिएको तथ्यांक उल्लेख गरे । वैदेशिक रोजगारमा गएका व्यक्तिले पठाउँदा पनि उक्त रेमिट्यान्स सम्भव नदेखिएको उनले बताए । र, रेमिट्यान्सका नाममा अवैध पैसा नेपालमा भित्रिरहेको आशंका व्यक्त गरे । सोही कारण नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा चलखेल भएको हुन सक्ने उनको भनाइ थियो ।
“कतै राष्ट्र बैंकको गभर्नर नियुक्तिमा पनि त्यो चलखेल त भइरहेको छैन भन्ने मेरो चिन्ता त्यहाँ छ,” उनले भने ।
कोइरालाले पार्टी सभापति शेरबहादुर देउवासँग कुरा गर्दा राम्रै मान्छे गभर्नर नियुक्त हुने जानकारी गराएकाले आफू ढुक्क रहे पनि देशमा कतै गडबड त भइरहेको छैन भन्ने चिन्ता रहेको बताए ।
उनले गभर्नर पद रिक्त हुनुभन्दा एक महिनाअघि नै नियुक्त गर्नुपर्ने व्यवस्था रहेको उल्लेख गरे । हाल गभर्नरका विषयमा संविधान मिच्ने कार्य भएको उनले बताए ।
सुशासन र भ्रष्टाचार अन्त्य गर्नुपर्नेमा देशमा दण्डहीनता बढ्दै गएकाले जनतामा असन्तुष्टि देखिएको उनको भनाइ थियो ।
उनले पैसाको लेनदेन गर्ने व्यक्ति जेल जाने र रकम लिने प्रदेशको सांसदले उन्मुक्ति पाउनु दण्डहीनताको पराकाष्ठा भएको टिप्पणी गरे । हिमालयन टेली भ्वाइस