
एजेन्सी । आर्थिक संकट गहिरिँदै गएपछि जापानको तेस्रो ठूलो अटोमेकर निसान मोटर कम्पनी लिमिटेडले गाडी उत्पादन प्लान्ट बन्द गर्ने भएको छ । निसानले जापानमा दुई कार एसेम्बली प्लान्टहरू बन्द गर्ने तयारी गरिरहेको छ ।
निसानले दक्षिण अमेरिकाको मेक्सिकोमा दुई कारखाना, अर्जेन्टिना र भारतमा भएका मोटर उत्पादन युनिट बन्द गर्न लागेको हो ।
कम्पनीको पुनर्संरचना गर्न जापान र विदेशमा रहेको मोटर उत्पादन युनिट बन्द गर्ने तयारी गरेको जापानको योमोरी पत्रिकाले शनिबार जनाएको छ । जापानको तेस्रो ठूलो अटोमेकरले यस हप्ताको सुरुमा व्यापक लागत कटौतीको घोषणा गरेको छ । यसले आफ्नो स्टाफलाई लगभग १५ प्रतिशत घटाउनेछ र विश्वव्यापी रूपमा उत्पादन प्लान्टहरू १७ बाट १० मा सीमित गर्ने भएको छ ।
निसानले आफ्नो वेबसाइटमा विज्ञप्ति जारी गर्दै मोटर उत्पादन गर्ने केही प्लान्टहरू बन्द हुने जानकारी गराएको छ । निसानले विज्ञप्तिमा भनेको छ, “हामी हाम्रा सरोकारवालाहरूसँग पारदर्शिता कायम राख्न प्रतिबद्ध छौँ । आवश्यक परेमा कुनै पनि सान्दर्भिक अद्यावधिकहरू सूचित गर्नेछौँ ।”
योमोरीका अनुसार, जापानमा बन्द हुने कारखानाहरूमा ओप्पामा प्लान्ट, जहाँ निसानले सन् १९६१ मा उत्पादन सुरु गरेको थियो । निसान शताईद्वारा सञ्चालित शोनान प्लान्ट पनि बन्द हुने भएको छ । जसमा निसान ५० प्रतिशत हिस्सेदार हो ।
निसानले दक्षिण अफ्रिका, भारत, अर्जेन्टिना र मेक्सिकोमा रहेका प्लान्टहरूमा गर्ने योजना अघि सारेको छ ।
शनिबार जारी विज्ञप्तिमा निसानले पहिले नै मेक्सिको र अर्जेन्टिनाबाट निसान फ्रन्टियर र नवारा पिकअपहरूको उत्पादनलाई मेक्सिकोको सिभ्याक प्लान्ट एकल उत्पादन केन्द्रमा एकीकृत गर्ने घोषणा गरेको छ ।
गत मार्चमा फ्रान्सेली गठबन्धन साझेदार रेनोले आफ्नो संयुक्त भारतीय व्यवसाय रेनो निसान अटोमोटिभ इन्डिया प्राइभेट लिमिटेडमा आफ्नो हिस्सेदारी किन्ने घोषणा गरेको पनि बताएको छ ।
सन् २००१ मा मुरायामा कारखाना बन्द गरेपछिको घरेलु प्लान्ट बन्द हुन लागेको यो दोस्रो घटना हुने योमोरीले उल्लेख गरेको छ । ओप्पामा प्लान्टको वार्षिक गाडी उत्पादन क्षमता २ लाख ४० हजार युनिट छ ।
अक्टोबरको अन्त्यसम्ममा यो प्लान्टबाट ३ हजार नौ सयले रोजगारी पाएका थिए । सन् २०१० मा निसानको पहिलो प्लान्ट बन्यो जसले लिफको उत्पादन सुरु गर्यो । लिफलाई विश्वको पहिलो मास–मार्केट इलेक्ट्रिक गाडी मानिन्छ ।
योमोरीका अनुसार व्यावसायिक भ्यान उत्पादन गर्ने शोनान प्लान्टको वार्षिक क्षमता लगभग एक लाख ५० हजार युनिट छ र यसले लगभग १२ सयलाई रोजगारी दिएको छ ।
गत जनवरीमा चिनियाँ प्रतिद्वन्द्वी बिवाइडी अटो र अमेरिकाको टेस्ला विद्युतीय सवारी साधनसँग प्रतिस्पर्धा गर्न निसानले होण्डा र मित्सुविसीबीच मर्जको समझदारी गरेका थिए । यि तीन कम्पनीले मर्जपछि विश्वको तेस्रो ठूलो अटो कम्पनी बन्ने योजना अघि सारेका थिए । पछि जापानका अटो कम्पनीहरूको मर्जर भंग हुन पुगेको थियो । मर्जर वार्ता भंग भएपछि अटोमेकर निसानले आफ्नो लागत संरचनालाई अनुकूलन गर्ने बताएको थियो ।
निसानले लागत संरचनालाई अनुकूलन गर्ने र आर्थिक वर्ष सन् २०२६ मा कूल ४ खर्ब येन (९२.६ अर्ब अमेरिकी डलर) लागत घटाउने योजना बनाएको जनाएको छ ।
निसानले करिब नौ हजार रोजगारी कटौतीको विस्तृत विवरण दिँदै भनेको छ, “सञ्चालनलाई व्यवस्थित गर्ने, नयाँ कर्मचारी भर्ना कटौती लागु गरेर र स्वैच्छिक पृथकीकरण कार्यक्रमहरूलाई गति दिएर विश्वव्यापी अप्रत्यक्ष २५ सय कर्मचारी घटाउनेछ ।”
निसानले बाँकी अनावश्यक जनशक्ति कटौतीका लागि आर्थिक वर्ष २०२५ को पहिलो त्रैमासिकमा तीनवटा प्लान्ट बन्द गर्ने त्यसबेला बताएको थियो ।