
काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिगले ११औँ चरणको नतिजा पाउँदा शीर्ष डिभिजन उक्लिने एक नयाँ टोली समेत पाइसकेको छ । बुधबार श्री भगवती क्लब टोखा र मध्यपुर युथ एसोसिएसनबीचको खेल १–१ को बराबरीमा टुंगिएसँगै लिगको ११औँ चरण पूरा भएको हो ।
वैशाख २८ देखि ३१ गतेसम्म लिगको ११औँ चरण सञ्चालन भएको थियो । सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न यस चरणमा सात खेल भए ।
प्लानिङ ब्वाइजको बढुवा, नयाँबस्ती ‘रेलिगेट’
लिगको पहिलो चरणदेखि नै शीर्ष स्थानमा दबदबा बनाउन सफल प्लानिङ ब्वाइज ११औँ चरणमा शीर्ष डिभिजनमा बढुवा भएको छ । प्लानिङले ११ खेलबाट २७ अंक जोड्दै दुई खेल अगावै शीर्ष डिभिजन लिग पक्का गरेको हो ।
११ खेल खेलिसक्दा प्लानिङले आठ जित र तीन बराबरीको नतिजा निकालेको छ । प्लानिङले आठौँ जितका लागि बाँसबारी क्लबलाई २–० ले पराजित गरेको थियो ।
प्लानिङ ब्वाइज नेपाली डिभिजन लिगमा पाइला टेकेको १४ वर्षपछि शीर्ष डिभिजन लिगमा बढुवा भएको हो । २०६८ मा ‘सी’ डिभिजन क्वालिफायरमा छनोट हुँदै टोलीले ‘सी’ डिभिजन लिग तय गरेको थियो ।
प्लानिङ ब्वाइजले २०६९ मा ‘सी’ डिभिजनमा प्रतिस्पर्धा गरेको थियो । यसको १० वर्षपछि २०७९ मा सम्पन्न ‘सी’ डिभिजन लिगमा उपविजेता बन्दै टोली झापा फुटबल क्लबसँगै ‘बी’ डिभिजन लिगमा बढुवा भएको थियो । यो तहबाट बढुवा भएको तीन वर्षको अन्तरालमा टोली शीर्ष डिभिजन लिगमा बढुवा भएको हो ।
शीर्ष डिभिजन लिगमा बढुवा भएपछि प्लानिङका मुख्य प्रशिक्षक ससेन्द्र धिमालले राम्रो पूर्वतयारीका कारण आफ्नो गन्तब्यमा पुगेको बताए ।
“हाम्रो स्थापना कालदेखि नै शीर्ष डिभिजन पुग्ने लक्ष्य थियो । हामी राम्रो पूर्वतयारीका कारण शीर्ष डिभिजन लिगमा बढुवा भएको हो । ‘सी’ डिभिजन लिगमा पुग्नसाथ क्लबले मिटिङ बसेर ‘बी’ डिभिजनमा कसरी अघि बढ्ने भनेर रणनीति बनाएको थियो,” खेलपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा प्रशिक्षक धिमालले बताए ।
प्लानिङ दुई खेलअगावै शीर्ष डिभिजनमा बढुवा हुँदा नयाँबस्ती युथ क्लब भने ‘सी’ डिभिजन लिगमा रेलिगेट भएको छ । नयाँवस्तीले ११ खेलमा एक जित, दुई बराबरी र आठ हारबाट पाँच अंकमा सीमित छ ।
नयाँवस्तीसँगै रेलिगेसन जोनमा रहेको टुसालले ११ खेलमा दुई जित, पाँच बराबरी र चार हारको नतिजासहित ११ अंक बनाएको छ । नयाँवस्तीले अब दुई खेलमा सम्भावित ६ अंक बनाउन सक्ने भए पनि ‘हेड टु हेड’मा टुसालसँग २–१ ले पराजित भएका कारण घटुवा हुने निश्चित भएको हो ।
उच्च गोलकर्तामा फागुराम
लिगले ११औँ चरणमा आइसक्दासम्म लिगले कुल १८६ गोल पाइसकेको छ । लिगको पहिलो चरणमा १५, दोस्रो चरणमा १८, तेस्रो चरणमा १४, चौथो चरणमा १८, छैठौँ चरणमा ११, सातौँ चरणमा १५, आठौँ चरणमा ११, नवौँ चरणमा २४, १०औँ चरणमा २६ र ११औँ चरणमा २४ गोल भएको छ । हालसम्म प्लानिङ र ब्वाइज युनियनले सर्वाधिक १९ गोल गरेका छन् ।
एघारौँ चरणसम्म शीर्ष स्थानमा आसिन प्लानिङका फागुराम थारु नै उच्च गोलकर्ता छन् । उनले ११ खेलमा नौ गोल गरेका हुन् । उनले च्यासलविरुद्ध दुई गोल गरे भने झापा, मध्यपुर, सरस्वती र आरसिटीसँगको खेलमा समान एक/एक गोल गरे ।
उच्च गोलकर्ताको दौडमा फागुरामलाई पछ्याउँदै श्रीकुमारी क्लबका यमन महर्जन, ब्वाइज युनियन क्लबका दिव्य विक्रम चौधरी, श्री भगवती क्लब टोखाका विक्रान्त नरसिंह रानाले समान पाँच/पाँच गोल गरेका छन् ।
रानीपोखरी कर्नर टिम (आरसीटी)का प्रज्वल गुरुङ, बाँसबारी क्लबका विक्की राई, सन्दीप लिम्बू, ब्रिगेड ब्वाइज क्लबका आशिष गुरुङले समान चार/चार गोल गरेका छन् ।
आरसीटीका अजित गुरुङ, झापा फुटबल क्लबका पुजन राई, राजेश दाहाल, सरस्वती युथ क्लबका विशेष लामा, धीरेन्द्रबहादुर शाह, ब्वाइज युनियनका दोर्जे तामाङ, सुजित बुढाथोकी, प्लानिङका सुजन डंगोल, च्यासलका निरज कार्की, श्री भगवती क्लब टोखाका अमित लामा, उज्वल राई र च्यासल युथ क्लबका आशिष थारुले समान तीन/तीन गोल गरेका छन् ।
च्यासल युथ क्लबका आश्विन घोरासैनी, कुशल देउवा, अनिल बोम्जन, मध्यपुर युथ एसोसिएसनका सन्तोष गोङ्बा, नयाँवस्ती युथ क्लबका पूर्णबहादुर गुरुङ, श्रीकृष्ण तामाङ, श्री टुसाल युवा क्लबका दिपेश लिम्बू, विनोद नेमङ, सुजन माझी, श्रीकुमारी क्लबका विनोद धमला, निशान्त प्रधान, प्लानिङका प्रताप सिंह राईले समान दुई/दुई गोल गरेका छन् ।
बाँसबारी क्लबका सरोज दर्लामी, वीरगञ्ज युनाइटेडका विकासदास थारु, क्रिप्कान्त महतो थारु, अमर बछार, अमर डंगोल, विवेक चौधरी, ब्रिगेड ब्वाइजका विजय उर्न, झापा फुटबल क्लबका प्रदीप बुढाथोकी, श्री भगवती क्लब टोखाका सुलेमान थापा मगरले समान दुई/दुई गोल गरेका छन् ।
ब्वाइज युनियनका विनोद राई, मिलन लिम्बू, सञ्जीव लामा, सरस्वती युथ क्लबका नरेशकुमार खत्री, आरसीटीका निखिल तामाङ र सुदीप लामाले समान दुई/दुई गोल गरेका छन् ।
यसबाहेक ५१ खेलाडीले समान एक/एक गोल गरेका छन् । यस चरणमा यी खेलाडीबाट आत्मघाती गोल भएको छ । आत्मघाती गोलसँगै हालसम्म लिगमा ६ आत्मघाती गोल भएका छन् ।
११औँ चरणमा वीरगन्ज युनाइटेडका एक खेलाडीले रातो कार्डको दर्शन गरे । उनलाई सरस्वतीसँगको खेलमा रेफ्रीले रातो कार्ड देखाएका थिए ।
यस्तो छ तालिका
लिगको दुई खेलअगावै शीर्ष स्थानमा बढुवा भएको टोली प्लानिङ ११औँ चरणसम्म पनि तालिकाको शीर्ष स्थानमा छ । प्लानिङले ११ खेलमा आठ जित र तीन बराबरीबाट २७ अंक शीर्ष बनाएको छ । प्लानिङसँग चार अंकको दूरीमा भगवती क्लब टोखा दोस्रो स्थानमा छ ।
ब्वाइज युनियन १९ अंकका साथ तेस्रो स्थानमा उक्लिएको छ । १६ अंक जोडेको वीरगन्ज चौथौ स्थानमा झरेको छ । समान १५ अंक बनाए पनि गोलअन्तरको आधारमा झापा फुटबल क्लब पाँचौँ स्थानमा रहँदा क्रमशः छैटौँ, सातौँ र आठौँ स्थानमा च्यासल युथ क्लब, सरस्वती युथ क्लब, बाँसबारी युथ क्लब छन् । आरसीटी १४ अंकका साथ नवौँ स्थान छ । १३ अंक जोडेको श्रीकुमारी क्लब १०औँ स्थानमा झरेको छ ।
समान १२ अंक बनाए पनि गोलअन्तरका आधारमा ब्रिगेड ब्वाइज ११औँ र मध्यपुर १२औँ स्थानमा छ । रेलिगेसन जोनमा श्री टुसाल युवा क्लब र नयाँ बस्ती युवा क्लब छ । यी दुई टिमले क्रमशः ११ र पाँच अंक जोडेका छन् ।