
काठमाडौं । महालेखापरीक्षकको कार्यालयले सहुलियत कर्जाको ब्याज अनुदान २०७८ असारदेखि २०८१ मंसिरसम्मको अवधिमा उल्लेखनीय वृद्धि भएको देखाएको छ । महालेखाका अनुसार, ०८१ असारसम्म २४ अर्ब ८९ करोड नौ लाख ५९ हजार पुगेको प्रतिवेदनमा उल्लेख गरेको छ ।
“नेपाल राष्ट्र बैंकबाट प्राप्त तथ्यांकअनुसार २०७८ असारसम्म ब्याज अनुदान ६ अर्ब ७९ करोड ६४ लाख ७९ हजार रुपैयाँ रहेकोमा २०७९ असारसम्म १५० प्रतिशतले वृद्धि भइ १६ अर्ब ९६ करोड ८५ लाख आठ हजार रुपैयाँ पुगेको छ । त्यस्तै, २०८० असारसम्म २२ अर्ब ३९ करोड आठ लाख १६ हजार र २०८१ असारसम्म २४ अर्ब ८९ करोड नौ लाख ५९ हजार रुपैयाँ पुगेको छ,” ६२औँ प्रतिवेदनमा उल्लेख छ ।
उल्लिखित स्थितिले कार्यक्रमको व्यापकता तथा वित्तीय संस्थाहरूको संलग्नता बढेको भए पनि दीर्घकालसम्म सहुलियत ब्याज अनुदान कार्यक्रमको निरन्तरता कायम गर्ने सम्बन्धमा थप विश्लेषण हुनुपर्ने महालेखाको प्रतिवेदनमा उल्लेख छ ।