site stats
बाह्रखरी :: Baahrakhari
कला
निश्चल, खगेन्द्र र केकीले १८० सर्वसाधारणलाई किन दिए प्रिमियरको निम्तो ?

काठमाडौं । चलचित्र ‘के घर के डेरा : घर नं २’ सबैभन्दा पहिला सर्वसाधारण दर्शकले हेर्ने भएका छन् । रिलिजको दुई दिनअगाडि नै यो चलचित्र सर्वसाधारण दर्शकले हेर्ने भएका हुन् । 

आज (बुधबार) साँझ हुने प्रिमियरमा १८० जना सर्वसाधारण दर्शकले चलचित्र हेर्ने भएका छन् । चलचित्रका मुख्य कलाकारहरू निश्चल बस्नेत, खगेन्द्र लामिछाने र केकी अधिकारीले सडकसडकमा पुगेर बाटोमा भेटिएका दर्शकलाई प्रिमियरको पास दिएका थिए । 

“कलाकार सडकमा उत्रिएर रेन्डम १८० जना दर्शकलाई प्रिमियरको टिकट दिनुभएको छ,” निर्देशक दीपेन्द्र के खनालले बाह्रखरीसँग भने, “नर्मल अडियन्सको फर्ष्ट रिभ्यू कस्तो आउँदोरहेछ सुनौँ भनेर हामीले पहिलोपटक यो अभ्यास गर्न लागेका हौँ ।” 

सञ्चारमाध्यमसँगै ‘नर्मल अडियन्स’ राखेर चलचित्र देखाउँदा कस्तो अडियन्स आउँछ त्यो सुन्न चाहेको उनले बताए । प्रिमियरमा चलचित्रकर्मीलाई बोलाउँदा जस्तोसुकै लागे पनि प्रतिक्रिया दिँदा राम्रो भन्ने गरेको भन्दै उनले रेन्डम दर्शकको प्रतिक्रिया बुझ्न खोजेको उनले बताए । 
 
“आफ्ना आफन्तले राम्रो भनेर प्रतिक्रिया दिए पनि सिनेमा चल्न साँच्चै राम्रो नै हुनुपर्छ । चलचित्र स्वयं राम्रो नभएसम्म कुनै पनि चलचित्र चल्नेवाला छैन,” दीपेन्द्र भन्छन्, “सडकमा रेन्डमली प्रिमियरको पास दिँदा पक्कै पनि सबै बर्गका दर्शक समेटिनु भएको छ होला । राम्रो लागे उहाँहरूले राम्रो भन्नुहोला नराम्रो लागे त्यहीअनुसारको रिभ्यू आउला ।” अब वास्तविकता लुकाएर हल्ला गरेका भरमा चलचित्र नचल्ने जी बताउँछन् । 

‘के घर के डेरा : घर नं २’ जेठ २ गते रिलिज हुँदै छ । चलचित्रको कथा साहित्यकार बुद्धिसागरले लेखेका छन् । सिनेमाको अग्रिम बुकिङ खुला भइसकेको छ । मल्टिप्लेक्समा सिनेमाले राम्रो संख्यामा शो पाएको छ ।  

चलचित्रमा खगेन्द्र, निश्चल र केकीसँगै उपासना सिंह ठकुरी, आर्यन सिग्देल, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारलगायतको अभिनय छ ।

चलचित्र एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो ।

कृष्णबहादुर थापाको सिनेमामा छायांकन रहेको छ । ‘के घर के डेरा : घर नं २’को कार्यकारी निर्माताको रूपमा युवराज कार्की छन् । निर्मातामा नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन् ।       
 

प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०८२  ११:३५
प्रतिक्रिया दिनुहोस्