site stats
बाह्रखरी :: Baahrakhari
खेल
गण्डकी प्रदेशस्तरीय महिला क्रिकेट : कास्की र स्याङ्जा फाइनलमा

काठमाडौं । पोखरामा जारी गण्डकी प्रदेश दोस्रो संस्करणको महिला टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा कास्की र स्याङ्जा प्रवेश गरेका छन् । प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा जारी प्रतियोगितामा शुक्रबार लिग चरणका खेल सम्पन्न भएसँगै फाइनलमा कास्की र स्याङ्जा प्रवेश गरेका हुन् ।

लिग चरणका खेल सम्पन्न भएसँगै कास्की समूह विजेता तथा स्याङ्जा उपविजेता बन्दै फाइनलमा प्रवेश गरेका छन् । कास्कीले तीन खेलमा अपराजित रहँदै कुल ६ अंकका साथ शीर्षस्थान हासिल गर्‍यो । स्याङ्जा दुई जित र एक हारसहित चार अंकका साथ दोस्रो स्थानमा रहँदा तीन खेलमा एक जित दुई हारसहित दुई अंकका साथ नवलपुर तेस्रो र तीन खेलमा दुई हार र एक बराबरी (वर्षाका कारण खेल रोकिएको) सहित एक अंकका साथ पर्वत पुछारमा रह्यो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

स्याङ्जाले शुक्रबार नवलपुरलाई आठ विकेटले हराउँदै फाइनलको यात्रा तय गरेको हो । स्याङ्जाले आठ ओभरको चौथो बलमा दुई विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । जितका लागि ५७ रनको सामान्य लक्ष्य पाएको स्याङ्जाको जितमा सलिना सेनले २३ र श्रेया शाहले १४ रनको योगदान दिइन् । नवलपुरका लागि आयुषा चापागाईँ र लिजा गुरुङले समान एक–एक विकेट लिए । 

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नवलपुर १५ ओभरको तेस्रो बलमा ५६ रन बनाउँदै अलआउट हुन पुग्यो । नवलपुरका लागि धनकुमारी क्षेत्रीले बाहेक अन्य ब्याटरले दोहोरो अंक बटुल्न सकेनन् । स्याङजाका लागि सिमाना केसीले सर्वाधिक चार विकेट लिइन् । आकृति तिवारी, निरु जिटी र अपेक्षा बुढाथोकीले समान दुई–दुई विकेट लिइन् ।

यस्तै, लिग चरणको अन्तिम खेलमा कास्कीले पर्वतलाई ९५ रनले हराएको छ । जितका लागि १२४ रनको लक्ष्य पाएको पर्वतलाई कास्कीले २८ रनमा रोक्दै अलआउट गर्‍यो । पर्वतले १० ओभरको दोस्रो बलमा २८ रन बनाएको थियो । पर्वतका कुनै पनि ब्याटरले दाहोरो अंक जोड्न सकेनन् । 

कास्कीका लागि सोनिमा पुन मगरले तीन, यशोदा भुजेलले दुई तथा रोजी परियार, चन्द्रमाया बराल, रेखा तामाङ र रचना चौधरीले एक–एक विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ थालेको कास्कीले २० ओभरमा पाँच विकेट गुमाउँदै १२३ रन बनाएको थियो ।

प्रकाशित मिति: शुक्रबार, असार २०, २०८२  २२:४१
प्रतिक्रिया दिनुहोस्