
काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निजी क्षेत्रकै सुझावअनुसार नीतिगत सुधार गरिएको बताएका छन् । सरकारले निजी क्षेत्रको आवाज सुनेको र अब नेपाली उद्योगी व्यवसायीले उत्पादन र उत्पादकत्व वृद्धि गरी निर्यात प्रवर्द्धनमा लाग्नुपर्ने बताए ।
बिहीबार नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ को दशौँ संस्करणको उद्घाटन गर्दै भण्डारीले उत्पादन र उत्पादकत्व वृद्धि गरी नेपाली वस्तु निर्यातमा लाग्न व्यवसायीलाई आग्रह गरेका हुन् ।
उनले नेपालको अर्थतन्त्रलाई आत्मनिर्भर र समृद्ध बनाउन निजी क्षेत्रको भूमिका अतुलनीय रहेको बताए । सरकारले पनि औद्योगिक विकास, स्वदेशी उत्पादनको बजारीकरण र निर्यात प्रवद्र्धनका लागि विभिन्न नीतिगत सुधार र सहजीकरणका प्रयास गरिरहेको मन्त्री भण्डारीको दाबी छ ।
“हामीले रुग्ण उद्योगको पुनरुत्थान, नयाँ औद्योगिक सम्भावनाको पहिचान र लगानीमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राखेका छौँ । यो मेलाले यस्ता अवसरको खोजी र सहकार्यका लागि उपयुक्त मञ्च प्रदान गर्नेछ भन्ने मेरो विश्वास छ,” मन्त्री भण्डारीले भने ।
उनले नीति तथा कार्यक्रमममा औद्योगिक विकास तथा निजी क्षेत्र प्रवद्र्धनलाई प्राथकितामा राखिएको बताए । देशको आर्थिक विकासमा सरकार निजी क्षेत्रको साथमा रहेको उनको भनाइ छ ।
सोही अवसरमा बोल्दै महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन र मुलुकको आर्थिक विकासमा मेलाले महत्त्वपूर्ण योगदान पुर्याउने बताए ।
मुलुकको अर्थतन्त्र अझै पनि जटिल मोडमा रहेको र बजारमा माग बढ्न नसकेको अवस्थामा मेला आयोजना गरेर बजारमा सकारात्मक सन्देश दिन खाजेको उनको धारणा छ ।
“मेलाले स्वदेशी तथा विदेशी उद्योगी व्यवसायीबीच व्यापारिक सम्बन्ध विस्तार गर्न, लगानी आकर्षित गर्न र रोजगारी सिर्जना गर्न महत्त्वपूर्ण भूमिका खेल्ने हाम्रो अपेक्षा छ,” वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भने ।
मेलामा नेपाल, चीन र बंगलादेशका गरी १२० भन्दा बढी स्टल छन् । विभिन्न देशका व्यापारिक प्रतिनिधिसँग भेटघाट र छलफलले द्विपक्षीय व्यापार र लगानीका अवसरबारे पनि छलफल हुने महासंघका केन्द्रीय सदस्य तथा मेला समितिका सभापति उमेश डालमियाले जानकारी दिए ।
वैशाख २९ गतेसम्म चल्ने मेलामा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।